डा. केसीको स्वास्थ्य कमजोर बन्दै

आइतबार, १० असोज, २०७७
डिजिटल संस्करण

जनस्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनको माग राखेर १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर हुँदै गएको छ । चिकित्सकका अनुसार डा. केसीमा हातखुट्टा बाउँडिने समस्या देखिन थालेको छ । 

डा. केसीले माग पूरा गर्न भन्दै शुक्रबार भिडियो सन्देशमार्फत प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे पनि सरकारका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । डा. केसीले २९ भदौमा जुम्लाबाट अनशन सुरु गरेका थिए । तर, स्वास्थ्यमा समस्या देखिन थालेपछि नवौँ दिन काठमाडौं आएका उनले शिक्षण अस्पतालमै अनशन जारी राखेका छन् । 

त्यसैबीच डा. केसीको पक्षमा काठमाडौंको माइतीघरमा शनिबार प्रदर्शन गरिएको छ । प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको थियो । उता सोलिडारिटी फर डा. केसी एलायन्सले पनि उनको जीवनरक्षाको माग गरेको छ । संयोजक डा. जीवन क्षेत्रीले विज्ञप्ति जारी गर्दै माग पूरा गरेर डा. केसीको जीवनरक्षा गर्न थप कडा आन्दोलनका कार्यक्रम ल्याउने बताएका छन् ।

सरकारले केसीको माग पूरा गर्न र जीवनरक्षा गर्न कुनै कदम नचालेको एलायन्सले आरोप लगाएको छ । डा. केसीको अभियानमा ऐक्यबद्धता जनाउन तथा नागरिक अधिकारहरूका लागि संघर्ष गर्न पनि एलायन्सले आग्रह गरेको छ । जनस्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा. केसीले १९औँ सत्याग्रह सुरु गरेका हुन् ।

See More On

सुझावित समाचार