हुम्लाका सहायक सिडिओलाई गृहको स्पष्टीकरण

शुक्रबार, ९ असोज, २०७७
डिजिटल संस्करण

गृह मन्त्रालयले ‘नेपाल–चीन सीमाजस्तो संवेदनशील विषयमा’ बोलेको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ । उनलाई लिखित रूपमा स्पष्टीकरण बुझाउन २४ घन्टाको म्याद दिएको छ । 

चीनले हुम्लाको नाम्खा गाउँपालिका–६ लाप्चा उपत्यकाको लोलुङजोङमा ११ वटा भवन बनाएको छ । सहायक सिडिओ हमालले केही दिनअघि लाप्चा उपत्यकाको भ्रमण गर्दा स्थानीय बासिन्दाले नेपालको जमिनमा चीनले भवन बनाएको गुनासो गरेका थिए । स्थानीय बासिन्दाको भनाइका आधारमा उनले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीलाई जानकारी गराएका थिए भने सञ्चारकर्मीसँग पनि आफूले देखेको र स्थानीय भनेको विषय राखेका थिए ।

त्यसपछि सीमा क्षेत्रमा चीनले बनाएका संरचनाबारे सञ्चारमाध्यममा समाचार आएका थिए । त्यस्तै, प्रमुख जिल्ला अधिकारी गिरीको नेतृत्वमा सुरक्षा निकायसहितको टोली स्थलगत अनुगमनमा गएको थियो । त्यही विषयलाई लिएर गृह मन्त्रालयले उनलाई स्पष्टीकरण सोधको हो । 

गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाले पठाएको चलानी नं. २७९ को अत्यन्त जरुरी पत्रमा तालुकदार निकायलाई खबरै नगरी बोल्नुको कारण माग गरिएको छ । प्रशासन शाखाका शाखा अधिकृत लोकमान श्रेष्ठद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘नेपाल–चीन सीमाजस्तो संवेदनशील विषयमा तालुकदार निकायलाई जानकारी नदिई के–कति कारणले सञ्चारमाध्यममा अभिव्यक्ति दिनुभएको हो ? सो सम्बन्धमा २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन आदेशानुसार अनुरोध छ ।’

यस विषयमा सहायक प्रजिअ हमालले आफूले देशलाई अप्ठ्यारो पार्ने गरी कुनै कुरा नबोलेको प्रतिक्रिया दिए । ‘मैले लिमी उपत्यकाको लाप्चामा गरेको भ्रमणका आधारमा जे–जस्तो देखेँ, त्यही भनेको थिएँ,’ हमालले नयाँ पत्रिकासँग भने ।

सुझावित समाचार