मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि संसद्को अर्थ समितिले चारवटा उपसमिति गठन गरेको छ ।
समितिको मंगलबार बसेको बैठकले राजस्व चुहावट, बक्यौता र प्रशासन उपसमिति, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति र सार्वजनिक संस्थान अध्ययन उपसमिति गठन गरको हो।
समिति सभापति कृष्णप्रसाद दाहाल भन्छन्, ‘उपसमितिलाई हामीले चार महिनाको समय दिएका छौँ । यो अवधिमा सम्बन्धित उपसमितिले गहिरो अध्ययन गर्नेछ र प्रतिवेदन बुझाउनेछ।’
राजस्व चुहावट, बक्यौता उपसमिति संयोजक पदम गिरी, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमितिको संयोजकमा सत्य पहाडी, बैंक तथा वित्तीय संस्था उपसमितिमा जुलीकुमारी महतो र सार्वजनिक संस्थानका अध्ययन उपसमितिको संयोजकमा मेटमणि चौधरी रहेको दाहालले जानकारी दिए।