नबिल बैंकले तलबी खाताबाहक ग्राहकलाई १ लाख रुपैयाँसम्मको कर्जा मोबाइल फोनबाट गरेको आग्रहका भरमा नै दिने सुविधा ल्याएको छ । बैंकले सुरु गरेको यो सेवा नेपालमै पहिलोपटक सुरु गरिएको हो ।
यो सुविधा एफवान सफ्टसँगको सहकार्यमा ल्याएको बैंकले जनाएको छ । स्मार्ट बैंकको विश्लेषणात्मक प्रविधिको महत्वपूर्ण भूमिका रहेको दाबी गरिएको यो सेवामा निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’मार्फत खातामा ऋण उपलब्ध गराइने बैंकले जनाएको छ । यो सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यसप्रकारको ऋण छोटो अवधिका लागि उपलब्ध हुने जनाइएको छ ।
यो सेवामा कर्जा लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रियाविना नै नबिल बैंकले आफ्नो स्मार्ट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने भएकाले कन्ट्याक्ट लेस हुने जनाइएको छ ।
त्यस्तै, बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने बैंकले जनाएको छ । यो सेवा ग्राहकको बैंकिङ कारोबारसँग जोडिएकाले यसका लागि कुनै धितो नचाहिने बैंकले जनाएको छ ।