एकपटक महात्मा गान्धी कतैको यात्रामा थिए । साथमा उनका कैयौँ अनुयायी पनि थिए । तीमध्ये एक अनुयायी आनन्द स्वामी पनि थिए । यात्राका क्रममा आनन्द स्वामीको कुनै विषयलाई लिएर एकजना सर्वसाधारणसँग विवाद भयो । विवाद निकै बढ्यो । दुवै आ–आफ्नो भनाइमा अडिग थिए । विवाद बढ्दै जाँदा आनन्द स्वामीले रिसले तिल्मिलाएर ती सर्वसाधारणको गालामा एक थप्पड हिर्काइदिए ।
आनन्द स्वामीले सर्वसाधारणको गालामा थप्पड हानेको विषय गान्धीसमक्ष पनि पुग्यो । गान्धीलाई यो विषय निकै नराम्रो लाग्यो । उनले आनन्द स्वामीलाई बोलाएर प्रश्न गरे– आनन्द, तपाईंले एकजना सर्वसाधारणको गालामा थप्पड हान्नुभयो भन्ने मैले सुनेँ । के यो कुरा साँचो हो ? आनन्दले निहुरिएर जवाफ दिए– हजुरले ठिकै सुन्नुभयो बापु, त्यसले अनावश्यक विवाद गरिरहेको थियो । आनन्द स्वामीको जवाफ सुनेर गान्धी दुःखी भए । उनले भने– अहँ, यो पटक्कै राम्रो भएन ।
तपाईंले एकजना सर्वसाधारणलाई चड्कन हानेर ठिक गर्नुभएन । ती मानिस एकजना सर्वसाधारण नभएर तपाईंकै बराबरीको भएको भए के तपाईंले चड्कन हान्नुहुन्थ्यो ? जे भयो, भइगयो । अब गल्ती सच्याउने उपाय भनेको माफी माग्नु नै हो । ऋब तपाईंले ती सर्वसाधारणसित तत्काल माफी माग्नुहोस् । आनन्द स्वामीलाई पनि आफ्नो गल्ती महसुस भयो । उनले ती सर्वसाधारणसित माफी मागे ।