प्राकृतिक स्रोतमा स्थानीय निकायको विवाद : गडविजला तालको सीमा विवाद टुंगियो

आइतबार, ४ असोज, २०७७
डिजिटल संस्करण

कञ्चनपुरका दुई स्थानीय तहबीच देखिएको गडविजला तालको सीमा विवाद टुंगिएको छ । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीच गडविजला तालको विवाद टुंगिएको हो । 

कृष्णपुर नगरपालिका– २ र लालझाडी गाउँपालिका– ५ क्षेत्रमा रहेको तालको सीमांकनको विवाद थियो । दुवै पालिकाले ताल आ–आफ्नो भूगोलभित्र पर्ने भन्दै दाबी गरेपछि विवाद भएको थियो ।

०७४ सालमा स्थानीय  सरकार गठन भएसँगै विवाद चुलिएको थियो । 

‘तीन वर्षपछि विवाद टुंगाे लागेको छ,’ जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले भने, ‘दुवै पालिकाबीच सीमांकनको विवाद हुँदा उपभोगविहीन भएको थियो ।’ 

जिसस प्रमुख तामाङले दुवै पालिका प्रमुखसहित जनप्रतिनिधि संवाद समूहसहितका सरोकारवालाको उपस्थितिमा सीमा विवाद टुंगाे लगाइएको बताए । 

स्थानीय तह सीमा विभाजन भौगोलिक नक्साबमोजिम तालको सीमा यकिन गर्न प्राविधिक र कानुनी समस्या रहेकाले दुवै पालिकाले प्रदेश सभा तथा संघीय सरकारमा पहल गरी दीर्घकालीन समस्याको खोजी गर्दै संरक्षरण सम्बर्द्धनका लागि दुवै पालिकाले पहल गर्ने सहमती जनाएका छन् । 

आन्तरिक राजस्व परिचालन उभोगका लागि कृष्णपुर नगरपालिकाले ६० र लालझाडी गाँउपालिकाले ४० प्रतिशत उपभोग गर्ने सहमति भएको छ । 

चालू आर्थिक वर्ष ०७७/७८मा आन्तरिक आम्दानीका लागि संयुक्त टेन्डर आह्वान गर्ने सहमति भएको थियो । 

यसअघि उक्त तालमा माछा मार्नका लागि तत्कालीन जिल्ला विकास समितिमार्फत लाखौँको टेन्डर हुँदै आएको थियो । 

स्थानीय सरकार गठन भएसँगै विवाद उत्पन्न भएपछि तीन वर्ष कुनै ठेक्का नभएको जिसस प्रमुख तामाङले बताए । 

‘यस वर्षदेखि तालको विवाद टुंगाे लागेको छ,’ जिसस प्रमुख तामाङले भने, ‘अब दुवै पालिकाको आन्तरिक आम्दानी हुन्छ ।’ 

सीमाको विषयमा दुवै पालिकाबीच विवाद हुँदा भएको प्राकृतिक स्रोत साधनको सदुपयोग भएको थिएन ।

सुझावित समाचार