कोरोनाले धनीको धन बढ्यो, गरिबको संख्या

शुक्रबार, २ असोज, २०७७
डिजिटल संस्करण

विश्व बैंक भन्छ, कोरोनाका कारण रोजगारी गुम्दा संसारका करिब १० करोड मानिस अतिगरिब हुने अवस्था छ

कोरोना महामारीका बेला यदि तपाईं घरबाट काम गर्दै हुनुहुन्छ भने कार्यालय आउँदा–जाँदा लाग्ने र बाहिर खाने खर्च बच्ने सम्भावना बढी हुन्छ । अर्कोतर्फ कोरोना संक्रमण फैलिनबाट रोक्न लगाइएको लकडाउनका कारण हजारौँ गरिब मजदुरको जागिर खोसिएको अवस्था छ । आयका स्रोतहरू पूर्णरूपमा बन्द भएका छन् । जसले गर्दा विकराल अवस्था सिर्जना भएको अर्थशास्त्रीहरू बताउँछन् । यसअघिका कुनै महामारीका बेला पनि अहिलेको जस्तो अवस्था सिर्जना भएको थिएन । क्यापिटल इकोनोमिक्सका प्रमुख अर्थशास्त्री निल सिरिङ भन्छन्, ‘यो महामारीले परिवारहरूको आयलाई नाटकीय ढंगले परिवर्तन गरेको छ । एकातिर हजारौँ मानिसको आयको स्रोत समाप्त भएको छ । उनीहरू कुनै पनि बेला जागिर जाने डर पालेर बसेका छन् । अर्कोतर्फ केही मानिसको आयमा नचाहेरै पनि वृद्धि भएको छ, उनीहरूका खर्चमा कमी आएको छ र बचत बढेको छ ।’

रेबेका ओकानर वेबसाइट कम्पनी ‘गुड विथ मनी’की संस्थापक हुन् । उनी रोयल लन्डनमा व्यक्तिगत निजी वित्तीय परामर्शदाताका रूपमा काम गर्छिन् । ‘अहिले आर्थिकस्तरमा मानिसहरूको वस्तुस्थिति बदलिएको छ । केही मानिसका लागि अब सानो रकम जम्मा गर्न पनि मुस्किल भएको छ,’ उनी भन्छिन् । यद्यपि रेबेकाजस्तै कैयन व्यावसायिक मानिसको खर्चमा भने अहिले निकै कमी आएको छ । बच्चालाई स्कुल छाड्न जाँदा लाग्ने पेट्रोल खर्च, सार्वजनिक यातायातमा यात्रा गर्नु नपर्ने स्थितिबाट रेबेकाले मात्रै चार सय ५० डलर बचत गर्छिन् । कफी नकिन्दा, अफिसमा साथीहरूसँग ड्रिंक र लन्च नगर्दा उनलाई सय डलरको लाभ हुन्छ । साथै, सुपरमार्केटबाट सामान नल्याउने कारण पनि खर्च जोगिएको छ । 

लकडाउनका बेला पैसा बचत गर्ने रेबेका एक्ली भने होइनन् । बेलायतमा लकडाउनका कारण पैसा बचाउने यस्तै अरू कैयौँ मानिस छन्, उनीहरू अब विदेश घुम्ने र सानदार तरिकाले बिहे गर्ने सपना पूरा गर्न चाहन्छन् । बेलायतको रेजोलुसन फाउन्डेसनले तयार पारेको रिपोर्टमा उच्च आय भएका परिवारमा प्रत्येक तीनमध्ये एकजनाले मासिक आयमा वृद्धि गरेको उल्लेख छ । जब कि पाँचमध्ये एक परिवारमा आयमा कमी देखिएको थियो । जुन परिवार अहिलेको अवस्थामा घरबाटै काम गर्न सक्षम छन्, उनीहरूले बढी पैसा बचाउन सकेका छन् । जब कि निम्नदेखि मध्यम आय भएको परिवारमध्ये २० प्रतिशतले यो महामारीका बेला उधारो बढेको बताएका छन् । 

कोरोना संकटको असर
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)मा अनुसन्धानकर्ताका रूपमा कार्यरत स्टिभन क्यापसोस भन्छन्, ‘यसअघिको आर्थिक संकटको तुलनामा वर्तमान संकट बिल्कुलै फरक छ किनभने यो महामारीले सोझै श्रम बजारमा हमला गरेको छ ।’ एकातिर अर्थव्यवस्थाका कैयन क्षेत्रमा काम पूरै बन्द भएको छ, अर्कोतर्फ केही क्षेत्रमा भने यस्तो भएको छैन । आइएलओका अनुसार रिटेल, निर्माण कार्य, उत्पादन, हस्पिटालिटी र खाद्य पदार्थको बजार लकडाउनका बेला लागेको प्रतिबन्धबाट नराम्रोसँग प्रभावित छन् । ‘प्रतिबन्धभन्दा अघि जुन काम मजदुरहरू गरिरहेका हुन्थे, त्यसमा अचानक रोक लागेको छ,’ क्यापसोस भन्छन् । आइएलओका अनुसार यो अवधिमा कामका जति घन्टा बर्बाद भएका छन् त्यो ३० करोड फुल टाइम जागिरबराबर थिए । 

अमेरिका र मध्य एसियामा कामका घन्टामा १३ प्रतिशत कमी आएको छ जब कि निम्न र मध्य आय भएका देशमा कामका घन्टामा निकै बढी कमी आएको देखियो । तर, यो महामारीबाट सबैभन्दा नराम्रोसँग ती १.६ अर्ब मजदुर प्रभावित भए, जो अनौपचारिक क्षेत्रमा मजदुरी गर्दै आएका थिए । ३५ वर्षीया लुसिमारा रोडरिग पनि एक मजदुर हुन् । ब्राजिलकी लुसिमोरा १६ वर्षअघि अमेरिका आएकी थिइन् । अहिले उनी बोस्टनका घरहरूमा सफाइको काम गर्छिन् । लुसिमोराले बिबिसीलाई बताएअनुसार, उनले केही धनी घरमा काम गरेर महिनाको ३५ सयदेखि चार हजार डलरसम्म कमाउने गर्थिन्, तर लकडाउनका कारण काम बन्द भयो । ‘मजस्ता मानिसका लागि यो अप्रत्यासित थियो । यसअघि मैले काम नभई दुई महिनाका लागि कहिल्यै घर बस्नुपरेन ।’ लुसिमोराका श्रीमान् निर्माण मजदुर हुन् । लकडाउनका कारण उनको पनि काम बन्द भयो । ‘मेरा केही मालिकले भलो देखाउँदै तलब दिइनै रहे, तर पनि अब एक–एक पैसा जोगाउनुपर्ने अवस्था आएको छ,’ उनी भन्छिन् ।

आफ्नो बाटो आफैँ खोज्ने कोसिस
नेसनल डोमेस्टिक वर्कर्स अलायन्समा सिनियर पोलिसी डाइरेक्टर हाएङ युनका अनुसार, अहिले अमेरिकी घरहरूमा काम गर्ने मानिस ‘आफ्नै भरोसा’मा बाँचिरहेका छन् । अमेरिकाका धनी घरहरूमा ल्याटिन अमेरिकी या काला जातिका मानिस अत्यधिक कामदारका रूपमा छन् । वर्कर्स अलायन्सले लकडाउनबाट प्रभावित भएका दश हजार परिवारलाई चार सय डलरको आर्थिक सहायता गरेको छ । घरमा काम गर्नेहरूसँग आवश्यकता पर्दा उपयोग गर्न सकिने तलबी बिदा, बिरामी बिदा या स्वास्थ्य बिमा हुँदैन । हालै गरिएको एक सर्वेक्षणमा करिब ७० प्रतिशत काला जातिका मानिसले जागिर गुमाएको वा तलबमा कटौती गरेको बताएका थिए । यति हुँदाहुँदै पनि गत मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई ट्रिलियन डलरको राहत प्याकेजबाट यिनीहरूले कुनै लाभ पाएनन् । प्याकेजमा प्रवासी मजदुर या अपञ्जीकृत कामदारका लागि कुनै सुविधा समावेश नभएकाले उनीहरू राहतबाट वञ्चित भएका हुन् । युन भन्छन्, ‘भाइरसले मानिसहरूबीच भेदभाव गर्दैन, तर यो देशका नीति निर्माता यस्तो गर्दछन् ।’

विश्व बैंकका अनुसार कोरोनाका कारण संसारका करिब १० करोड मानिस अत्यन्तै गरिब हुने खतरा बढेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले महामारीको असरबाट माथि उठ्न बनाउने नीतिहरूमा असमानता अन्त्य गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने अपिल गरेको छ । विश्वका सरकारहरू आ–आफ्नो अर्थव्यवस्थामा कोरोनाको पीडाबाट उम्किन लाखौँ डलर खर्च गरिसकेका छन् । तर, अन्तर्राष्ट्रिय मुद्रा कोषले भने गरिबहरूको सुरक्षाका लागि खास कदम उठाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । यसका साथै खाद्य सुरक्षाको प्रबन्ध गर्नुपर्ने र मानिसहरूको हातमा पैसा दिनुपर्नेजस्ता काम गर्ने आवश्यकता कोषले औँल्याएको छ । कोरोना संकटको सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा परेको छ । अनौपचारिक श्रम बजारका श्रमिक तथा गरिब मजदुरमा यसको असर परेका कारण अधिकांश दरमा गरिबी बढ्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । १६६ देशमा गरिएको अध्ययनमा सबैभन्दा धेरै सब सहारा अफ्रिकामा २२.६ प्रतिशतले गरिबीमा वृद्धि हुने अनुमान बैंकको छ । यसैगरी, दक्षिण एसियामा १५.६, ल्याटिन र क्यारेबियनमा २.७, मध्यपूर्व र दक्षिण अफ्रिकामा २.८ र पूर्वी एसिया तथा प्यासिफकमा ४.५ प्रशितले गरिबीमा वृद्धि हुने बैंकको सर्वेक्षणले देखाएको छ ।
 
धेरै कमाउनेमा विद्युतीय र औषधि कम्पनी
कोरोना संक्रमणका बेला कर्पोरेट क्षेत्रमा मिश्रित प्रभाव देखिएको छ । निर्माण सामग्री, उत्पादन, हस्पिटालिटी, पर्यटनलगायतका आर्थिक क्षेत्रमा यसको अत्यन्तै नकारात्मक असर परेको छ । तर, अर्थतन्त्रको अर्को हिस्सा भने कोरोना महामारीका कारण अपेक्षा गरेभन्दा निकै बढी आय गर्न सफल पनि भएका छन् । अक्सफामका अनुसार, लाखौँ गरिब जनता भोकमरी र रोगको त्रासमा बाँचिरहेका बेला औषधि, चिकित्सा, सञ्चार, अनलाइन व्यापार, टेलिकन्फेन्सी र इ–वित्तीय कारोबार गर्ने विश्वका १७ वटा कम्पनीले मात्रै पछिल्लो त्रैमासिकमा मात्रै आफ्नो नाफामा ८५ बिलियन डलर वृद्धि गर्न सफल भएका छन् । 

अमेजन कम्पनीले गत वर्षको २.६ बिलियन डलर नाफाको तुलनामा यस वर्ष दोब्बर अर्थात् ५.२ बिलियन डलर नाफा कमाएको छ । अमेजनले मार्चयता एक लाख ७५ हजार नयाँ जागिर पनि थपेको जनाएको छ । बिजनेस साइडरका अनुसार, मार्चदेखि जुनसम्म मात्रै अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसको कुल सम्पत्तिमा ४८ बिलियन डलर वृद्धि भएको छ । फक्स बिजनेसले गरेको सर्वेक्षणमा १५ जुनसम्म अमेरिकाका कतिपय कम्पनीले आफ्नो नाफा बढाएका छन् । सार्वजनिक तथ्यांकअनुसार भिसा (५२ प्रतिशत), माइक्रोसफ्ट (३३ प्रतिशत), फिजर (३१ प्रतिशत), इन्टेल (३० प्रतिशत) र फेसबुकको सीमान्तीकृत नाफामा २८ प्रतिशतले वृद्धि भएको छ । यसका साथै एप्पल, जुमलगायतका अन्य कम्पनीहरूको नाफामा समेत उल्लेख्य वृद्धि भएको छ ।

एजेन्सीको सहयोगमा 

See More On

सुझावित समाचार