फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपालको स्थान यथावत् नै रहेको छ । कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित भएको समयमै फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल १७०औँ स्थानमा छ । यसैगरी दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । नेपालले ९७४ वरीयता अंक हात पारेको छ ।
दक्षिण एसियामा भारत ११९७ अंकका साथ शीर्ष स्थानमा छ । भारत विश्व वरीयतामा भने १०९औँ स्थानमा छ । माल्दिभ्स विश्व वरीयताको १५५औँ स्थान र दक्षिण एसियाको दोस्रो स्थानमा छ । माल्दिभ्सले १०४० वरीयता अंक पाएको छ । फिफाका अनुसार बंगलादेशले १८७औँ वरीयता पाएको छ । बंगलादेशले ९१४ अंक हात पारेको छ । यसैगरी भुटान ९११ अंकका साथ १९९औँ स्थानमा छ ।
फिफा वरीयताको पुछारमा श्रीलंका छ । श्रीलंकाभन्दा एक स्थानमाथि पाकिस्तान छ । पाकिस्तान २०० र श्रीलंका २०६ स्थानमा छन् । यसैगरी विश्व वरीयताको शीर्ष १० स्थानमा केही परिवर्तन भएको छ । शीर्ष स्थानमा बेल्जियमले १७७३ अंक जोडेको छ । विश्व च्याम्पियन फ्रान्स १७४४ अंकका साथ दोस्रो स्थानमा छ ।
यसैगरी पाँचपटकको विश्वविजेता ब्राजिल तेस्रो स्थानमा रहँदा १७१२ अंक रहेको छ । इंग्ल्यान्ड १६६४ अंकका साथ चौथो स्थानमा छ । पोर्चुगलले दुई स्थान सुधार गर्दै पाँचौँ हात पाऱ्याे । छैटाैँमा उरुग्वे, सातौँमा स्पेन, आठौँमा क्रोएसिया र नवौँ स्थानमा अर्जेन्टिना छन् ।
वरीयताको दशौँ स्थानमा कोलम्बिया रहेको छ । यता एसियन वरीयताको शीर्ष स्थानमा जापान रहेको छ । जापान विश्वको वरीयतामा २८औँ स्थानमा छ ।