मकवानपुरमा संक्रमितको संख्या हजार नाघ्यो

मंगलबार, ३० भदौ, २०७७
डिजिटल संस्करण

मकवानपुरमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । जिल्लामा पहिलो कोरोना संक्रमित फेला परेको पाँच महिनापछि मंगलबार मध्याह्नसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या एक हजार नाघेको हो ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका अनुसार मंगलबार मध्याह्नसम्म १६ जना संक्रमित थपिएसँगै जिल्लामा हालसम्म कुल संक्रमितको संख्या एक हजार ६९ पुगेको छ । 

मकवानपुरमा स्थायी ठेगाना भई अन्यत्र बसोवास गरिरहेका र मकवानपुरमै बसोवास गरिरहेकासमेत गरी कुल संक्रमितको संख्या एक हजार ६९ पुगेको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले बताए ।

हेटौँडा उपमहानगरपालिका कार्यालयका जनस्वास्थ्य निर्देशक भोला चौलागाईंका अनुसार मकवानपुरमै रहेर उपचार गरिरहेका संक्रमितको संख्या तीन सय ६४ र जिल्लामा कोरोना पुष्टि भएकामध्ये पाँच सय ३२ जना निको भई डिस्चार्ज भइसकेका छन् । 

यसैगरी बागमती प्रदेशका पाँच जिल्लामा संक्रमितको संख्या एक हजार नाघेको छ । पुष्टि भएका संक्रमित संख्याको आधारमा मकवानपुर चौथो स्थानमा रहेको छ । मन्त्रालयको तथ्यांकअनुसार हालसम्म काठमाडौंका १० हजार ३५, चितवनका एक हजार तीन सय ४४, मकवानपुरका एक हजार ६९ र भक्तपुरका एक हजार ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

बागमती प्रदेशका १३ जिल्लामा १५ हजार नाै सय ३६ जना संक्रमित छन् । तीमध्ये आठ हजार उपचाररत, सात हजार आठ सय १९ डिस्चार्ज र एक सय १७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सुझावित समाचार