निषेधाज्ञामै सिराहामा बढ्यो चहलपहल (फोटोफिचर)

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

जिल्लाका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय सिराहाले निषेधाज्ञा लगाएको भए पनि स्थानीय हाटबजारमा चहलपहल बढ्न थालेको छ । 

सिराहाको मुख्य बजार लहानमा बजार–पसल बिस्तारै खुल्न थालेका छन् भने लामो तथा छोटो दूरीमा चल्ने भाडाका सवारीसाधनबाहेक बजार क्षेत्रमा अटोरिक्सा र  टेम्पो चल्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयले पछिल्लोपटक  १५ भदौदेखि २७ भदौ मध्यरातसम्म एम्बुलेन्ससहित दूध, तरकारी, खाद्यान्न बोक्ने सवारीसाधन र जरुरी कामका मोटरसाइकलबाहेक अन्य साधन निषेध गरेको भए पनि भाडाका यात्रुबाहकबाहेकका सवारीसाधन गुड्न थालेका छन् । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम २७ भदौ राति १२ बजेसम्मका लागि अत्यावश्यकबाहेक हिँडडुलसमेत गर्न नपाउने गरी आदेश गरेको भए पनि बिस्तारै चहलपहल बढ्न थालेको हो ।

त्यसअघि जिल्ला प्रशासनले समुदायस्तरमा फैलिन थालेको कोरोना संक्रमण न्यूनीकरण गर्न गत ३२ साउनदेखि १५ भदौको मध्यरातसम्म निषेधाज्ञा जारी गरेको थियो । 

प्रशासनले लगाएको निषेधाज्ञा अवधिमा जिल्लाका बैंक तथा वित्तीय संस्थाहरू शनिबारबाहेक हरेक दिन बिहान १० देखि १ बजेसम्म सञ्चालन हुँदै आएका छन् । जिल्ला प्रशासन कार्यालयले शनिबार मध्यरातसम्मका लागि लागू गरेको निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा कुनै निर्णय सार्वजनिक गरेको छैन ।

सुझावित समाचार