कोरोना भाइरसको प्रभाव र अवस्थालाई अनुगमन गरी भैपरी आउने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समिति गठन गर्नुपर्ने माग सांसदहरूले गरेका छन् ।
उपत्यकाका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेका हुन् ।
शुक्रबार दिउँसो उनीहरूले सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन जानेमा गगन थापा, भीमसेनदास प्रधान, रामकुमारी झाँक्री, राजेन्द्र श्रेष्ठ, शशी श्रेष्ठलगायतका सांसदहरू थिए ।
समिति बनाउने विषयमा ज्ञापनपत्रमा भनिएको छ, ‘कोभिड– १९ को कारणले जनस्वास्थ्यमा प्रभाव पर्नुको साथै दैनिक ज्यालादारीमा मजदुरी गर्ने श्रमिक, उद्योगधन्दा, शैक्षिक संस्था, आमउपभोक्ता वर्ग तथा कोरोना नियन्त्रण र रोकथामतर्फ सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको समस्या र तिनको व्यवस्थापनमा भइरहेका बेथितिको सम्बोधन गर्ने गरी कोभिडको अवस्था र प्रभावलाई मात्र अनुगमन गर्ने गरी सरकारलाई राय–सुझाब दिन संसदीय समिति गठन गर्न पहल गर्ने ।’
समिति बनाउने विषयमा सभामुख सापकोटा पनि सकारात्मक रहेको सांसद भीमसेनदास प्रधानले बताए ।
प्रधान भन्छन्, ‘हामी आठजना गएका थियौँ ज्ञापनपत्र बुझाउन । अहिले जति पनि समितिहरू छन् तिनको नियमित कार्यक्रम मात्रै भयो, कोभिड मात्रै हेर्ने स्पेसल कमिटी बनाउने कुरा सभामुखसमक्ष राख्यौँ । त्यस्तो कमिटीमा सभामुखको भूमिका पनि रहनुपर्छ भन्यौँ । सभामुखज्यूले आवश्यक सरसल्लाह गरेर अघि बढ्ने बताउनुभएको छ ।’