कोरोना संक्रमणका कारण पोखरामा मंगलबार दिउँसो एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका– १० की ७३ वर्षीया महिलाको मृत्यु भएको हो । उनको दिउँसो ३ः५० मा मृत्यु भएको हो ।
महिलामा कोरोना संक्रमण देखिएपछि सोमबार कोभिड उपचार केन्द्रको आइसियूमा भर्ना गरेको प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पालका निर्देशक डा. अर्जुन आर्चायले जानकारी दिए । योसँगै केन्द्रमा कोरोना उपचारका क्रममा मृत्यु हुनेको संख्या नौ पुगेको छ । यस्तै गण्डकी प्रदेशमा हालसम्म कोरोनाका कारण २१ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेशका ११ जिल्लामध्ये कास्कीका सात, गोरखाका चार, तनहुँका तीन, स्याङ्जा र नवलपुरमा दुई–दुईजना, बाग्लुङका, लमजुङ र म्याग्दीका एक–एकजनाको मृत्यु भएको हो ।
गण्डकीमा दुई हजार ६ सय ६० संक्रमित
गण्डकी प्रदेशमा मंगलबारसम्म संक्रमितको संख्या दुई हजार ६ सय ६० पुगेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये एक हजार आठ सय चारजना निको भइसकेका छन् भने आठ सय ३६ जना उपचाररत छन् । पछिल्लो २४ घन्टामा प्रदेशमा ६० जना नयाँ संक्रमित थपिएका छन् ।