ओखलढुंगाका जिसस प्रमुख श्रेष्ठमा कोरोना पुष्टि

पत्रकारसहित मंगलबार नौजना संक्रमित थपिए

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठमा कोरोेना संक्रमण पुष्टि भएको छ । जिसस प्रमुख श्रेष्ठ, उनकी श्रीमती र छोराहरूसहित मंगलबार जिल्लाका नौजनाको रिपोर्ट पोजेटिभ आएको हो । 

कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवारमा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नेता सुनुवार केही महिनायता जिल्लामा पार्टीका कार्यक्रमहरूमा सहभागी हुँदै आएका थिए । यस्तै पत्रकार दीर्घ खत्रीमा समेत संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । 

पछिल्लो समय पठाइएको ८१ वटा स्वाबमध्ये १२ जनामा संक्रमण देखिएको हो । मंगलबार नौजना नयाँ संक्रमित थपिएका छन् भने तीनजना आइसोलेसनमा रहेकाको पुनः रिपोर्ट पोजेटिभ आएको जिल्ला कमान्ड पोस्ट ओखलढुंगाले जनाएको छ । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । सुनकोसी गाउँपालिकाका सबैभन्दा धेरै पाँचजना, खिजिदेम्बा गाउँपालिकाका एकजना, मानेभञ्ज्याङ गाउँपालिकाका एकजना र जिल्लामा सरुवा भएर आएका दुईजना प्रहरीमा कोरोना पुष्टि भएको हो । 

कोरोना संक्रमण दर बढेसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सबैलाई सतर्क रहन आग्रह गरेको छ । भेटघाट र भिडभाड नगर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा रहेकाहरूलाई स्वाब परीक्षण गराउन सुझाब दिएका छन् ।
 

सुझावित समाचार