बाग्लुङमा चार स्वास्थ्यकर्मीसहित थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको पश्चिम तमानखोला गाउँपालिकामा यसअघि गत १४ भदाैमा एक स्वास्थ्यकर्मी र एक व्यवसायी महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरूको कन्ट्याक्ट ट्रेसिङबाट एक सय १९ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा नाैजनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
यसअघि भारतबाट आई क्वारेन्टिनमा बसेकालाई मात्र देखिएको कोरोना संक्रमण झन्डै एक महिनाको अन्तरपछि समुदायका व्यक्तिहरूमा पनि देखिन थालेको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा तमानखोला गाउँपालिकाका ६ जना महिला र तीनजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाग्लुङका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए ।
संक्रमितलाई ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ प्राथमिक केन्द्रको आइसोलेसनमा उपचार गरिनेछ । यसअघि पनि जिल्लामा पाँचजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेको छ ।
उनीहरूमध्ये चारजना निको भएर घर फर्किसके भने एकको धौलागिरि अञ्चल अस्पतालको आइसाेलेसनमा उपचाररत छन् ।
जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या तीन सय आठजना पुगेको छ । जसमा दुई सय ७२ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।