नक्कली कागजात पेस गरी नागरिकता लिएको आरोपमा हेटौँडाका उद्योगी पक्राउ

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

नक्कली कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोपमा हेटौँडाका एक उद्योगीलाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली कागजपत्र बनाई नागरिकता लिएको आरोपमा हेटौँडाका उद्योगी विप्लवकान्ती बोस (बिके)लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार हेटौँडा– ५ गर्दोईस्थित उनको उद्योग नारायणी मिल्क्स प्रालिबाट पक्राउ गरेको हो ।       
५९ वर्षीय बोसले नक्कली कागजपत्र बनाई नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले हेटौँडाबाट पक्राउ गर्न मकवानपुर प्रहरीलाई आग्रह गरेअनुसार नियन्त्रणमा लिइएको मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । 

बोसलाई जिल्ला प्रहरी कार्यालय रौतहटलाई बुझाइने र जिल्ला अदालत रौतहटमै मुद्दा चलाइने डिएसपी रानाले बताए । 
बोसविरुद्ध रौतहट प्रहरीमा उजुरी दर्तापछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको थियो । 

‘मुद्दा दायरसँगै थप अनुसन्धान रौतहटबाटै हुनेछ,’ रानाले भने, ‘यहाँबाट पक्राउ गरी पठाउन मात्र अनुरोध भएकोले सोहीअनुसार पक्राउ गरिएको हो ।’

बोस हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित सुपर लेमिकोट्स प्रालिको व्यवस्थापक हुन् । 

बोस उद्योग संघ हेटौँडाको यसअघि कार्यसमितिमा सदस्य थिए ।

सुझावित समाचार