सरकारले तोकेको मापदण्ड पूरा गरेर बिहान ५ देखि साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउनेगरि मोरङमा थप एक हप्ता निषेधाज्ञा थप भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २८ भदौको राति १२ बजेसम्म निषेधाज्ञा थप भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
निरौलाका अनुसार निषेधाज्ञा अवधिभरि सार्वजनिक सवारीसाधन सञ्चालन हुने छैनन् । निजी सवारीसाधान जोर–बाजोर प्रणालीअतर्गत सञ्चालन हुनेछन् । व्यवसाय सञ्चालन भएप नि सैलुन, ब्युटिपार्लर, जिम क्लब, मनोरञ्जनस्थल आदि भने सञ्चालन गर्न पाइने छैन । औषधि पसल, अस्पतालहरू भने २४सै घन्टा खुला हुनेछन् ।
यसअघि मोरङमा १६ भदौदेखि २२ भदौसम्मका लागि ४ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउने गरी जिल्लाभरि निषेधाज्ञा जारी भएको थियो । त्यसअघि प्रशासनले ११ भदौदेखि दिउँसो १२ बजेसम्म सबै व्यापार व्यवसाय सञ्चालन गर्न पाउने गरी १६ भदौ राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
लकडाउनपछि पहिलोपटक ५ भदौमा जिल्ला सुरक्षा समितिले कोरोना संक्रमण नियन्त्रण गर्न विराटनगर महानगरपालिकासहित मोरङको रंगेली नगरपालिका, कटहरी र बुढीगंगा गाउँपालिकामा १० भदौको राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा हालसम्म १९ सय ४४ जना कोरोना संक्रमित भएका छन् जसमध्ये २४ जनाको मृत्यु भएको छ ।