गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण

संक्रमितको संख्या दुई हजार पाँच सय ९८ पुग्यो

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान पोखराको एक उद्योगमा कार्यरत मजदुर र अस्पतालका कर्मचारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । याेसमेत साेमबार गण्डकी प्रदेशमा ६७ जनामा संक्रमण देखिएकाे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी  दिए ।  

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरासँगै चार जिल्लाका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पत्ता लागेका हुन् । योसँगै  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय ९८ पुगेको छ ।

पोखरा महानगरपालिका क्षेत्रमा थपिएका नयाँ संक्रमितहरूमध्ये पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालका चारजना छन् । अस्पतालमा कार्यरत २६ र २३ वर्षीया दुई  महिला स्वास्थ्यकर्मी र ३६ र २७ वर्षीया दुईजना महिला सहयोगी कर्मचारीमा रहेका छन् ।

पोखरास्थित मेडिसिटी अस्पतालमा उपचाररत ७८ वर्षका एक पुरुष र ७३ वर्षकी एकजना महिलासहित दुईजनामा कोरोना पुष्टि भएको छ ।

एकै उद्योगका २५ जना  
पोखरास्थित एक उद्योगमा कार्यरत २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान पोखरास्थित पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र आठजना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएकाहरूमा २२, २३, २७, २८, २८, २८, २५, ४०, २४, २३, २६, २३, २४, २६, ३२, ३५ र २४ वर्षका महिला रहेका छन् । यसैगरी पुरुषमा २७, २३, २०, ४०, २२, ३३, ३७ र २९ वर्षका छन् । सो उद्योगमा कार्यरत मजदुरमा यसअघि पनि कोरोना देखिएको थियो ।

तीन जिल्लाका ३६ जनामा  संक्रमण
कास्कीसँगै प्रदेशका अन्य तीन जिल्लाका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । नवलपुर जिल्लाको गैँडाकोटका  एक र देवचुलीका १४, गोरखाका १६ गरी १८ र तनहुँका तीनजनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सुझावित समाचार