कोरोना महामारी र निषेधाज्ञाबीच देशका चर्चित उद्योगी व्यवसायीको दैनिकी कसरी बित्दै छ ? के छ उनीहरूको अनुभव र योजना ?
पहिलो चरणको लकडाउन नहुँदै अर्बपति व्यवसायी विनोद चौधरी नवलपुरस्थित आफ्नै औद्योगिक प्रतिष्ठान सिजी इन्डस्ट्रियल पार्कमा गएर बसे । लकडाउनको अवधिमा पनि प्रतिष्ठानका उद्योगहरू चलाउन सक्रिय भइरहे । त्यहीँबाट देशभित्र र विदेशी पार्टनरसँग जुमबाटै मिटिङ गर्थे । अधिकतम समय नवलपुर बसे पनि बेलाबेला उनको काठमाडौं आउजाउ चलिरह्यो । काठमाडौं आउँदा पनि उनी बिहानदेखि साँझसम्म सामान्य अवस्थामा जस्तै व्यस्त रहन्थे । उनी अफिसियल, राजनीतिक मिटिङ र सामाजिक काममा उत्तिकै व्यस्त रहिरहे ।
कोभिडबाट आममानिस डराइरहे पनि चौधरी बिल्कुल तर्सित देखिन्नथे । सकेसम्म दिनचर्या यथावत् रूपमा चलाउने मानसिकता बोकेर काम गरिरहेका उनलाई कोभिड पोजिटिभ देखियो । आफूमा कहिले कहाँबाट संक्रमण भयो भन्ने उनले अहिलेसम्म निक्र्योल गर्न सकेका छैनन् । उनको परिवारका सदस्य, साथीभाइ र अफिसमा नजिक रहेर काम गर्ने सर्कल कसैलाई पनि कोभिड पोजिटिभ देखिएन । कोभिडको कुनै पनि लक्षण नदेखिएको बताउने उनी रविभवनस्थित घरमै आइसोलेसनमा बसे । १० दिनपछि शनिबार उनी संक्रमणमुक्त भएका छन् । आइसोलेसनमै बसेका बेला राजनीतिक तथा सामाजिक गतिविधिमा भर्चुअल माध्यमबाट सहभागी भएको उनी बताउँछन् ।
...
अधिकांश समय उद्योग व्यवसायमा सक्रिय भइरहने व्यवसायी शशिकान्त अग्रवाल लकडाउन सुरु भएसँगै अधिकतम समय घरमै बिताइरहेका छन् । सरकारले ४ भदौदेखि निषेधाज्ञा लागू गरेपछि दुई÷तीन दिनमा एक आधा घन्टा अफिस जान्छन् । बिहान जहिल्यै पशुपति, बनकालीतिर मर्निङवाकमा निस्कने उनी अहिले घरभित्रै हिँडडुल गर्छन् । बिहान योग पनि गर्छन् । उनी भन्छन्, ‘दिनभरि कुनै काम हुँदैन, टिभीमा समचार हेर्ने, फिल्म हेर्ने गरेर समय बितिरहेको छ ।’

लकडाउन तथा निषेधाज्ञाको अवधिमा समय बिताउन निकै कठिन भइरहेको उनी सुनाउँछन् । उनी साथीभाइ भेटेर ग्यादरिङ गर्न रुचाउँथे, कोभिडले साथीभाइ भेटघाट हुन पनि रोकिदियो । अझै निषेधाज्ञा कहिलेसम्म लम्बिने हो यकिन छैन । यत्तिकै बाहिर निस्कन पाइँदैन । ‘सरकारले लकडाउन अनलक नगर्दासम्म हामीले नयाँ बिजनेस प्लान बनाएर पनि काम छैन,’ उनी सुनाउँछन्, ‘अब सरकारले लकको मात्र होइन कि अनलकको योजना बनाउनुपर्छ ।’
...
कोभिड महामारीले सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीको पनि दैनिकी फेरिदिएको छ । उनी कार्यालय गएका छैनन्, घरमै परिवारसँग बसिरहेका छन् । नातिनी जोहा चौधरीसँग दिनभरि हासखेल गरेर समय बिताउँछन् । अफिसका कतिपय कामहरू अनलाइन र भर्चुअल मिटिङबाटै फत्ते गर्छन् । कहिले अफिसबाट कर्मचारीले फोन गर्छन्, फोन उठाउनै परिहाल्यो । कर्मचारीको पनि कोरोना बिमा गरिदिएको उनी बताउँछन् ।
धेरै व्यवसायीले घरमा मिनी अफिस बनाएका हुन्छन् । तर, चौधरीको घरमा मिनी अफिस छैन । अफिसमै सक्षम कर्मचारीहरू भएको हुनाले उनलाई घरमा रहँदा अफिसको काममा त्यति ध्यान दिनुपर्दैन । उनी भन्छन्, ‘मेरो हकमा वर्क फर्म होम लागू भएको छैन ।’ घरमा रहँदा परिवारसँगै रमाउने उनको बानी छ । कतिपयले घरमा बस्दा भविष्यका योजना बनाइरहेका पनि होलान् । ‘अहिले ग्रोथ गर्ने समय होइन, अदृश्य रोगबाट ज्यान जोगिनु नै ग्रोथ हो,’ उनी सुनाउँछन्, ‘हामीले भोलिका लागि भन्दा पनि अहिलेका लागि मोमेन्ट बाई मोमेन्ट सोच्नुपर्ने बेला आएको छ ।’ कोभिड संक्रमित बढिरहेका बेलामा आफैँले आफैँलाई सुरक्षित राख्नुपर्ने उनको सुझाब छ ।
...
उद्योग व्यवसायमा सक्रिय भएको करिब तीन दशकको अवधिमा शेखर गोल्छा कहिल्यै दिनभरि घरमा बसेको रेकर्ड थिएन । विगतमा बन्द हडताल हुँदा पनि उनी अफिस पुगेकै हुन्थे । सानोतिनो बिरामी हुँदा पनि अफिस जान छाड्दैनथे । तर, योपटक कोभिडका कारण उनी घरबाहिर निस्कन सकिरहेका छैनन् । सरकारले अत्यावश्यक काममा बाहेक हिँडडुलमा रोक लगाएको छ । कहिलेकाहीँ अफिस गइहाले पनि उनी धेरैजसो काम घरबाटै अनलाइनमार्फत गरिरहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका बैठक तथा कार्यक्रम पनि भर्चुअल रूपमा भइरहेका छन् । उनी भन्छन्, ‘यति लामो समय घरमै बिताएको जीवनकै पहिलो अनुभव हो ।’ दिनभरि घरमा बस्नुपर्दा मानसिक टर्चर हुन्छ । उनी मानसिक तथा शारीरिक रूपमा फिट रहन घरमै मेडिटेसन गर्छन् । बिहान उठेर दैनिक डेढ दुई घन्टाजति घरमै एक्सरसाइज गर्छन् । उनी अध्यात्ममा रुचि राख्ने मान्छे हुन् । लकडाउनको अवधिमा उनले आधा दर्जनभन्दा बढी आध्यात्मिक किताब पढेर सिध्याइसकेका छन् । अहिले पनि उनी आध्यात्मिक पुस्तक पढिरहेको बताउँछन् । कोभिडकै कारण परिवारसँग पनि दिनभरि समय बिताउने मौका पाएका छन् । धैरै वर्षपछि छोरछोरी पनि साथमै छन् । उनलाई घरमा रहँदा पनि उनलाई मिडियाले पछ्याइरहेका हुन्छन्, दैनिकजसो अन्तर्वार्तामै व्यस्त हुन्छन् ।
...
बिहानदेखि रातिसम्म व्यस्त रहने व्यवसायी चन्द्र ढकालको दैनिकी अहिले घरमै बितिरहेको छ । कोभिड सुरु भएपछि अफिस खासै जाँदैनन् । उद्योग वाणिज्य महासंघ र अफिसका मिटिङहरू पनि भर्चुअल हुन थालेका छन् । उनको व्यवसायी साथीहरूसँग केही समय टेलिफोनमा बित्छ । मिडियाहरूले पनि पछ्याइरहेका हुन्छन्, अन्तर्वार्तामा पनि उत्तिकै व्यस्त भइरहन्छन् । सामान्य समयमा बिहान साढे ८ बजे उनी अफिस पुगिसक्थे । कामको व्यस्तताले बेलुका घर पुग्दा रात परिसक्थ्यो ।

निकै व्यस्त हुँदा परिवारलाई समय दिन नभ्याउने ढकाल पछिल्लो पाँच महिनायता प्रायः परिवारसँगै छन् । विदेशमा अध्ययनका लागि गएका दुई छोराहरू पनि अहिले घरमै फर्किएका छन् । उनी बिहान उठेर घरभित्रै दुई घन्टा मर्निङवाक गर्छन् । बाहिर निस्कन प्रशासनले बन्देज लगाएको छ । दिउँसो केही समय भर्चुअल मिटिङ र टेलिफोनमा व्यस्त हुन्छन् । विभिन्न परिकार बनाएर परिवारसँगै खान्छन् । श्रीमती र छोराछोरीसँग बसेर गफिन्छन् । सधैँ अफिस पुग्न हतारिने उनलाई अहिले कुनै हतार छैन । जुमबाट मिटिङ त भइरहेकै हुन्छन्, तर धाएरै जानुपर्ने नहुँदा त्यति दबाब महसुस नहुने उनको अनुभव रह्यो । उनी भन्छन्, ‘अरू बेला व्यस्त भइन्थ्यो, धेरै समयपछि यसरी परिवारसँगै लामो समय बिताउन पाइएको छ।’
...
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर पनि बाहिर निस्किएका छैनन् । घरबाटै भर्चुअल मिटिङ गर्छन् । मिडियामा अन्तर्वार्ता दिन्छन् । सरकारले मर्निङवाक गर्न रोक लगाएपछि घरभित्रै एक्सरसाइज गर्छन् । उनी बस्ने अपार्टमेन्टमा प्रशस्त खाली ठाउँ छ, त्यहीँ मर्निङवाक गर्छन् । उनी भन्छन्, ‘घरमा बस्दाबस्दा दिक्क लागिसक्यो, तैपनि नबसेर पनि के गर्नु, कोभिड संक्रमित बढिरहेका छन् ।’ बिहान उठेर एक्सरसाइज गर्ने, समाचार पढ्ने, परिवारसँग बसेर फिल्म हेर्ने उनको दिनचर्या बनेको छ । अफिसको काम पनि घरबाटै अनलाइन वा फोनबाट गरिरहेको बताउँदै उनी भन्छन्, ‘म अफिस पनि गएको छैन, कसैलाई भेटेको पनि छैन, जति काम इन्टरनेट र फोनबाट हुन्छ, त्यति मात्र काम गरिरहेको छु।’
...
ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति लकडाउनमा पनि त्यति फुर्सदिला छैनन् । घरबाटै अफिसका कामहरू गरिरहेका हुन्छन् । बिहान १० बजेदेखि अफिसका कर्मचारीसँग भर्चुअल मिटिङ सुरु हुन्छ । उनी भन्छन्, ‘जति सकिन्छ घरमै बसेर अनलाइनबाट काम गरिरहेका छौँ ।’ ग्रुपले लकडाउन सुरु भएसँगै ‘वर्क फ्रम होम’को मोडल अपनाएको हो । ‘दसैँ मुखैमा आइसकेको छ, स्थिति जस्तो भए पनि तयारी गर्नैप-यो,’ उनी भन्छन्, ‘परिवारका सबै सदस्य अफिस समयमा व्यस्त रहन्छौँ, बच्चाबच्चीको पनि अनलाइन क्लास भइरहेको हुन्छ ।’
लकडाउनको अवधिमा घरभित्रै बस्दा शारीरिक तथा मानसिक रूपमा पनि स्वस्थ हुनुपर्छ । र, कोरोना संक्रमणबाट जोगिन इम्युनिटी पावर पनि बढाउनुपर्ने हुन्छ । ज्योति बिहान योगा र प्रणायाम गर्छन् । साँझपख परिवारका सबै सदस्यहरू एक्सरसाइज गर्छन् । अहिले परिवारसँग समय बिताउने अवसर पनि हो । उनी थप्छन्, ‘इभिनिङमा परिवारका सबैजना एक्सरसाइज गर्छौं, गफगाफ गर्दै रमाइलो गर्छौं, डिनर खान्छौँ ।’
...
होटेल एसोसिएसन नेपाल (हान)की अध्यक्ष एवं अन्नपूर्ण होटेलकी प्रबन्ध निर्देशक सिर्जना राणाले लकडाउनको समय परिवारसँगै बिताइरहेकी छिन् । पहिला जति बेला पनि काम भनेर दौडिरहँदा आफ्नो स्वास्थ्यलाई खासै ध्यान दिन नपाएको उनी बताउँछिन् । खानपिन पनि हेल्दी हुँदैनथ्यो, जे मिल्छ त्यही खाने गर्थिन् । कहिले त जंकफुड खाएरै दिन बित्थ्यो पनि । तर, लकडाउनपछि एक्सारसाइज गर्न र हेल्दी खाना बनाएर खान पर्याप्त समय मिलेको उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘बिहान १५ मिनेट योग र १५ मिनेट ध्यान गर्छु, साँझमा एक्सरसाइज गर्छु ।’ अहिले घरबाहिर निस्कन पाइँदैन, घरभित्र बस्दा शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन पनि एक्सरसाइज गर्नैपर्ने उनको सुुझाब छ । उनले हेल्दी खानामा पनि विशेष ध्यान दिन थालेकी छिन् । लकडाउनमा जुम मिटिङ तथा कार्यक्रममा राम्रै सहभागिता जनाइरहेकी छिन् । ‘व्यवसाय बन्द हुँदा पिर लागे पनि सबैको बन्द हुँदा मन बुझाउने ठाउँ हुने रहेछ,’ उनी भन्छिन्, ‘अहिले परिवारलाई समय दिन पाइएको छ, परिवार नजिक भएको छ, आफ्नो बारेमा पनि सोच्न समय मिलेको छ ।’