कोरोना पत्ता लगाउन \'एन्टिजिन\' परीक्षण गरिने

समुदायमा संक्रमण फैलिएपछि सरकारले एन्टिजिन परीक्षणको बाटो खोल्यो, परीक्षणका लागि जापानले ५० हजार किट दिने

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस पत्ता लगाउन अब एन्टिजिन परीक्षण गरिने भएको छ । यसका लागि सरकारले बाटो खुला गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैले परीक्षण गर्न पाउने गरी निर्णय गरेको छ । 

निषेधाज्ञा जारी गर्दा पनि कोरोनाको संक्रमण नघटेपछि तत्काल परीक्षण गरी नतिजा हेर्न एन्टिजिन परीक्षण गर्ने निर्णय गरिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले शरीरमा भाइरस कति छ भनेर हेर्न एन्टिजिन परीक्षण गर्ने निर्णय गरिएको बताए । उनकै पहलमा जापानले ५० हजार थान एन्टिजिन किट दिने भएको छ । आइतबार नै सात हजार थान एन्टिजिन किट जापानी कम्पनीले उनलाई हस्तान्तरण गरेको छ । 

¥यापिड डायग्नोस्टिकजस्तै एन्टिजिन किट भए पनि यसको परीक्षण प्रक्रिया फरक भएको अधिकारीहरू बताउँछन् । समुदायमा संक्रमित खोज्ने कार्यलाई तीव्रता दिन ¥यापिड डायग्नोस्टिक किट (आरडिटी)मार्फत रगतमा एन्टिबडी हेरिन्छ, तर एन्टिजिन किटबाट भने शरीरमा भाइरसको मात्रा कति छ भनेर हेरिन्छ । प्रमुख विशेषज्ञ डा. पोखरेलले भने, ‘एन्टिजिन'का माध्यमबाट भाइरसविरुद्ध शरीरले रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बनाएको हेर्न होइन, यसले शरीरमा भाइरस नै कति छ भनेर हेर्ने हो ।’ 

एन्टिजिन किटको प्रयोग गरेका देशमा प्रभावकारिता ९० प्रतिशतभन्दा माथि देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एन्टिजिन हेर्न खकार र नाकबाटै स्वाब संकलन गरिन्छ । तर, यसका लागि परीक्षण पिपिआर मेसिनमा हाल्नुपर्दैन, छुट्टै किट हुन्छ । किटमा स्वाब हालेर घोलेको २० मिनेटभित्र नतिजा देखाउँछ । चिकित्सकहरूका अनुसार एउटा मात्रै धर्का देखाएमा त्यसलाई कोरोना नभएको मानिन्छ भने दुईवटा धर्का देखाएको खण्डमा पोजेटिभ भएको मानिन्छ । 

एन्टिजिनमार्फत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टाइनमा भएका व्यक्ति र शंका लागेर चाँडै परीक्षण गर्नुपरेको अवस्थामा प्रयोग गरिने डा. पोखरेल बताए । स्वास्थ्य मन्त्रालयका अनुसार एक हजारभन्दा कम मूल्यमा यसको परीक्षण हुनेछ । 

आइसियू र भेन्टिलेटरमा पुग्ने बढे

कोरोना संक्रमित बढेसँगै आइसियू र भेन्टिलेटरमा पुग्ने संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा देशभर दुई सय एकजनाको आइसियू तथा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ ।

१९ भदौमा २६ जना भेन्टिलेटरमा र एक सय एकजना आइसियूमा थिए । त्यस्तै, २० भदौमा २४ जना भेन्टिलेटरमा र एक सय ६७ जना आइसियूमा थिए । आइतबार भने २७ जना भेन्टिलेटरमा र एक सय ७४ जना आइसियूमा पुगेका छन् । पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्दै गएका छन् भने समुदायस्तरमा पनि संक्रमण देखिन थालेको छ । जसले गर्दा आइसियू तथा भेन्टिलेटरमा पुग्ने पनि बढ्दै गएको जनाइएको छ ।

सरकारले कुल संक्रमितमध्ये पाँच प्रतिशत संक्रमित गम्भीर अवस्थामा हुने बताउँदै आएको छ । मन्त्रालयका अनुसार आइतबार देशभर नौ सय ८० जना नयाँ संक्रमित देखिएका छन् । योसँगै संक्रमितको संख्या ४६ हजार दुई सय ५७ पुगेको छ । आइतबार १० हजार तीन सय ८२ वटा नमुना परीक्षण भएको थियो । त्यस्तै, कोरोनाबाट नौजनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या दुई सय ८९ पुगेको छ । आइतबार मृत्यु हुनेहरू काठमाडौंका तीन, मोरङका दुई, झापा, धनुषा, पर्सा र चितवनका एक–एकजना छन् ।

वीर अस्पताललाई कोभिड बनाइयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवा भने अब राष्ट्रिय ट्रमा सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यसअघि वीर अस्पताललाई ननकोभिडका रूपमा प्रयोग गरिएको थियो । तर, संक्रमण बढ्दै गएपछि वीरमा पनि संक्रमित भर्ना भएका थिए । अहिलेसम्म वीर अस्पतालका ७५ जना स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् ।

सुझावित समाचार