प्रदेश १ मा शनिबारसम्ममा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या तीन हजार आठ सय ७९ जना पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमणाट मृत्यु हुनेहरू प्रदेश १ स्थायी ठेगाना भएका २७ जना छन् भने १२ जना बाहिरका छन् । प्रदेशमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मोरङको विराटनगर महानगरका दुई महिला, बुढीगंगा र धनपालथान गाउँपालिका एक–एकजना पुरुषको मृत्यु भएको छ ।
शनिबार ५४ जना संक्रमित थपिए
प्रदेश १ मा शनिबार २३ महिला र ३१ जना पुरुषमा कोरोना संक्रमित पुष्टि भएको छ । मोरङका ३४, सुनसरीका १३, झापाका पाँच, इलामका एक र प्रदेशबाहिरका एकजनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा १४ जना महिला र १४ जना पुरुष, पथरी शनिश्चरे नगरपालिकामा दुई, लेटाङ नगरपालिका, रंगेली नगरपालिका र कटहरी गाउँपालिकामा एक–एकजना पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै जहदा गाउँपालिकाकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा दुई महिला र ६ पुरुष, धरान उपमहानगरपालिकामा चार महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी झापाको दमक नगरपालिकामा एक महिला र दुई पुरुष, बिर्तामोड नगरपालिकामा एक पुरुष र स्थानीय तह नखुलेका एकजना पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । साथै इलामको चुलाचुली गाउँपालिकामा एक पुरुष र प्रदेशबाहिरका एक महिलामा पनि कोरोना देखिएको छ ।
१६ जना डिस्चार्ज
यस्तै कोसी अस्पताल कोभिड– १९ उपचार केन्द्रबाट शनिबार १६ जना संक्रमित डिस्चार्ज भएका छन् । योसहित प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या एक हजार आठ सय ३५ पुगेको छ ।