लमजुङमा बुधबारदेखि पुनः सात दिन निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार साझ ६ बजेदेखि २४ भदौ साझ ६ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि १३ भदौदेखि पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार बुधबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले थप एक साता निरन्तरता दिइएकोे हो ।
जिल्लाभित्र कोभिड– १९ को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थपिएको हो ।
यस्तै बुधबारको बैठकले बेसिसहर नगरपालिकाको १,२,३, ७ र ८ गरि ५ वडा , सुन्दरबजारका २, ५,६,७,८ र ९ गरि ६ वटा वडा, मध्यनेपालको २,३,४,६ र ७ गरि ५ वडा र क्वहोलासोथर गाउँपालिकाको १,२,३ र ४ नम्बर वडालाई निषेधाज्ञा गरिएको छ । यस अवधिमा खाद्यान्न, फलफूल, तरकारी, माछा, मासु, दूध, डेरीजन्य पसल बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
लमजुङमा बुधबार मात्र १८ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित जिल्लामा कुल संक्रमितको संख्या दुई सय ३३ जना पुगेका छन् जसमध्ये एक सय १३ जना निको भएर घर फर्किएका छन् भने एक सय २० जना आइसोलेसनमा छन् ।