कर्णालीमा पछिल्लो २४ घन्टामा १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश अस्पताल–पशुपन्छी प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश अस्पताल–पशुपन्छी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा जुम्लाका दुईजना र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका एकजनामा गरी १४ जनामा कारोना संक्रमण देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
‘कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार चार सय ५६ पुगेको छ,’ उनले भने, ‘उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।’
त्यस्तै, कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट पछिल्ला २४ घन्टामा ३३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार एक सय १९ पुगेको महाशाखाका प्रमुख शाहीले जानकारी दिए ।
हाल कर्णालीका कोरोनाका संक्रिय बिरामीको संख्या तीन सय ३१ जना रहेको र ६ जनाको कोरोनाका कारणले यसभन्दा अघि मृत्यु भएको महाशाखाले जनाएको छ ।