कोरोना मिटर : काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय, अहिलेसम्म १६ जनाको निधन

मंगलबार, १६ भदौ, २०७७
डिजिटल संस्करण

देशको राजधानी तथा प्रमुख प्रशासनिक क्षेत्र रहेको काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय नाघेको छ । 

महानगरभित्र बसोवास गर्ने १६ जनाको मृत्यु भएको छ । १३ भदौसम्ममा महानगरका दुई हजार चार सय ५२ जना संक्रमित छन् । 

त्यसयताको विवरण प्राप्त भइनसकेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । 

अहिलेसम्म वडा नं. ३, ७, १२, १३, २०, २१, २२, ३१ र ३२ मा एक–एकजना, वडा ४ मा दुईजना, १० मा तीनजना र २७ मा दुईजनाको मृत्यु भएको छ । 

महानगरपालिकाका अनुसार अहिलेसम्म चार सय ६० जना निको भएर घर फर्किएका छन् । महानगरपालिकाले अहिलेसम्म संक्रमितको सम्पर्कमा आएका चार हजार दुई सय १३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ । 

अहिले पाँच सय ४८ जना संक्रमित होम आइसोलेसनमा बसेका छन् । 

महानगरका ३२ वडामध्ये वडा नं. ३२ मै सबैभन्दा धेरै संक्रमित छन् । यस वडामा मात्रै एक सय ९८ जनामा संक्रमण पुष्टि भइसकेको छ । ७१ जना निको भएर फर्किएका छन् । ३६ जना अस्पतालमा उपचाररत छन् भने ५४ जना होम आइसोलेसनमा छन् ।

यस वडामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने संक्रमितको सम्पर्कमा रहेका चार सय ५० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । 

दोस्रोमा वडा ३ मा संक्रमितको संख्या एक सय ८० पुगेको छ । जसमध्ये ५८ जना निको भएर घर फर्किएका छन् । २८ जना होम आइसोलेसनमा र ७९ जना अस्पतालमा छन् । 

यस वडामा एकजनाको मृत्यु भएको छ । वडामा एक सय २८ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । 

तेस्रो धेरै संक्रमण भएको वडा १६ हो । यहाँ एक सय ६६ जना बिरामी छन् । जसमध्ये होम आइसोलेसनमा २७ जना र अस्पतालमा ६० जना उपचाररत छन् । २५ जना निको भएर फर्किएका छन् भने मृत्यु कसैको भएको छैन । 

यस वडामा दुई सय ७५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

सुझावित समाचार