नेपाल राष्ट्र बैंकमा ६१ कर्मचारीका लागि आवेदन खुला

शुक्रबार, २७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले खुला प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी छनोट गर्न दरखास्त आह्वान गरेको हो ।

बैंकको केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै सहायक निर्देशक र सहायक पदका लागि आवेदन माग गरेको जनाएको छ ।

सूचनाअनुसार सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ २६, लेखा तथा लेखापरीक्षणतर्फ तीन, वाणिज्य कानुनतर्फ दुई र सूचना प्रविधितर्फ चार पदमा भर्ना गरिनेछ ।

त्यसैगरी, सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २६ जनाका लागि आवेदन खुलाइएको छ । कुल ६१ पदमध्ये विभिन्न समावेशी समूहका लागि समेत पद छुट्याइएको बैंकले जनाएको छ ।

बैंकले योग्य नेपाली नागरिकबाट कात्तिक २७ गतेदेखि अनलाइनमार्फत आवेदन लिन सुरु गरेको छ । इच्छुक उम्मेदवारले तोकिएको आवेदन दस्तुर बुझाएर मंसिर १७ गतेसम्म दरखास्त दिन सक्नेछन् । निर्धारित समयभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्रलगायत आवश्यक कागजात पेस गर्नुपर्नेछ । विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले सम्बन्धित निकायबाट प्राप्त समकक्षताको प्रमाणपत्रसमेत बुझाउनुपर्नेछ ।

यसैगरी, सहायक पदमा आवेदन दिने उम्मेदवारले लोकसेवा आयोगबाट एकीकृत परीक्षा प्रणालीअन्तर्गत सञ्चालन हुने पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

null

nullnullnullnull

सुझावित समाचार