धनकुटामा निःशुल्क शल्यक्रिया शिविर सुरु

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

धनकुटा । जिल्ला अस्पताल धनकुटामा निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविर सुरु भएको छ। अलोहा मेडिकल मिसन, हवाई अमेरिकाको प्राविधिक सहयोगमा आर्थिक अभावका कारण उपचार तथा शल्यक्रिया गराउन नसकेका बिरामीलाई लक्षित गरी सोमबारदेखि शिविर सञ्चालन गरिएको हो।

शिविरको प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली, प्रदेश सभा सदस्य निरन राई, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र अलोहा मेडिकल मिसनका टोली नेता डा. क्रिस्टोफर क्लेमले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन्।

१४ कात्तिकसम्म सञ्चालन हुने शिविरमा स्त्रीरोग, हर्निया, हाइड्रोसिल, पायल्स, पित्तथैलीको पत्थरीलगायतका समस्याको शल्यक्रिया गरिनेछ। यसका साथै घाँटीसम्बन्धी समस्याको उपचार सेवा पनि प्रदान गरिनेछ।

शिविरमा अमेरिकाबाट डा. क्रिस्टोफर क्लेम र डा. विकास गुप्ताको संयोजकत्वमा आएको विशेषज्ञ चिकित्सकको टोली तथा नेपाली स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्नेछन्। शिविर सञ्चालन तथा व्यवस्थापन मूल समितिका संयोजक रोशेष श्रेष्ठका अनुसार शिविरबाट मेजर अप्रेसन, सामान्य अप्रेसन तथा स्वास्थ्य परीक्षण (स्क्रिनिङ) गरी एक हजार पाँच सयभन्दा बढी बिरामीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।

अलोहा मेडिकल मिसनले धनकुटामा स्वास्थ्य तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ। यस्ता निःशुल्क स्वास्थ्य शिविरले आर्थिक अभावका कारण उपचारबाट वञ्चित बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रचारप्रसार समितिका संयोजक विदुर खवासले बताए। शिविरमा कृत्रिम हात र खुट्टा पनि वितरण गरिनेछ।

सुझावित समाचार