काठमाडौं । एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले सत्ता कानुनभन्दा माथि उठ्ने लाइसेन्स नभएको भन्दै रास्वपा सांसद खगेन्द्र सुनारमाथि स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आचार्यले हिजो शोषित, पीडित र दलित समुदायको न्यायका लागि बोल्नेहरू आज सत्ताको आडमा महिलालाई नै धम्की दिएको आरोपमा मुछिनु विडम्बनापूर्ण रहेको उल्लेख गरेका छन्।
‘महिलालाई ज्यान मार्ने, रगत पिउने र धम्की दिएको भनिएका अडियो सार्वजनिक भएपछि यो विषय अब पार्टीको आन्तरिक छानबिनमा मात्रै सीमित हुनुहुँदैन। रास्वपाको छानबिन आफ्नो ठाउँमा छ, तर सरकारले र सम्बन्धित राज्यका निकायले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्छ,’ उनले फेसबुकमा लेखेका छन्।
दलितको अधिकारको नारा लगाउनु र महिलाको सम्मानको रक्षा गर्नु फरक नरहेको प्रस्ट्याउँदै आचार्यले महिला, दलित, कमजोर वा शक्तिशाली कसैलाई पनि धम्की र अपमान सहन बाध्य पार्न नपाइने बताएका छन्।
सत्ता कसैलाई कानुनभन्दा माथि उठ्ने लाइसेन्स नभएको धारणा राख्दै उनले लेखेका छन्, ‘आरोप प्रमाणित भए पद, पार्टी र पहुँच नहेरी कानुनअनुसार कारबाही हुनुपर्छ। आरोपको निष्पक्ष छानबिन हुनुपर्छ र पीडित भनिएकी महिलाको सुरक्षा सुनिश्चित गरिनुपर्छ।’