चाडपर्वका सुरक्षा चुनौतीहरूलाई पहिचान गरी समयमै नियन्त्रण गर्न आइजिपीको निर्देशन

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं/ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वका सुरक्षा चुनौतीहरूलाई पहिचान गरी समयमै नियन्त्रण गर्न  देशभरका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्।

भर्चुअल कन्फरेन्समार्फत आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण तथा गुल्म, ट्राफिक प्रहरी कार्यालयलगायत प्रहरी निरीक्षक प्रमुख रहने कार्यालयका प्रमुखहरूलाई समसामयिक विषय र चाडपर्वको सुरक्षा व्यवस्थाबारे आवश्यक निर्देशन दिएका हुन्। कार्यक्रममा प्रहरीका विभागीय प्रमुखहरूको समेत उपस्थिति थियो।

महानिरीक्षक कार्कीले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी समयमै नियन्त्रण गर्न आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिए। उनले आफ्नो कार्यक्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउँदै नागरिकले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सक्ने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, चाडपर्वका वेला बढ्ने सवारी चापलाई मध्यनजर गर्दै यातायात व्यवस्थापन सहज बनाउन, ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउन तथा शान्ति सुव्यवस्था कायम राख्न कुनै कसर बाँकी नराख्न उनले निर्देशन दिएका छन्।

नागरिकको सुरक्षा, अपराध नियन्त्रण र सहज आवागमनलाई प्राथमिकतामा राख्दै चाडपर्व अवधिभर प्रहरी परिचालन प्रभावकारी बनाउनसमेत महानिरीक्षक कार्कीले मातहतका कार्यालय प्रमुखहरूलाई आग्रह गरेका छन्।


 

सुझावित समाचार