दाङ । तुलसीपुर उपमहानगरपालिका– ७, गैरापातुमा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
बुधबार बिहान करिब १० बजे गैरापातुस्थित झोलुंगे पुलनजिकै सडकमा लु.प्र ०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो। दुर्घटनामा सल्यानको शारदा नगरपालिका– २, खलंगाका पप्पु नेपालीका छोरा आयन नेपाली घाइते भएका थिए। उनी हाल दाङको तुलसीपुर उपमहानगरपालिका– ५, रानीजरुवामा डेरा गरी बस्दै आएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका आयनको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।