बिर्तामोडमा युवतीलाई हातखुट्टा र घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको किसनगन्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्रामपञ्चायत घर भई हाल बिर्तामोड नगरपालिका– ५ स्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलीपचन्द्र राय छन्।
प्रहरीका अनुसार रायले साेमबार राति करिब १०:३० बजे इलामको रोङ गाउँपालिका– ३ घर भई हाल बिर्तामोड– ५ मा डेरामा बस्दै आएकी २२ वर्षीया युवतीकाे कोठामा प्रवेश गरेका थिए। मादक पदार्थ सेवन गरेका रायले तन्ना च्याती युवतीकाे हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर रायलाई नियन्त्रणमा लिएको हो। घटनामा घाइते युवतीलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको छ।पक्राउ परेका रायमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।