सुशीला कार्की नेतृत्वको सरकारले स्वकीय सचिवालय नियुक्तिमा गरेको कडाइ फुकाइयो

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण

गत वर्ष भदौमा भएको जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले स्वकीय सचिव नियुक्तिमा कडाइ गरेको थियो । तत्कालीन सरकारले सार्वजनिक संरचनाको पुनर्निर्माण तथा मर्मत, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहतमा ठुलो स्रोत आवश्यक रहेको भन्दै अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यले राजनीतिक नियुक्ति रोक्नेसहितका निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले ५ असोज २०८२ मा गरेको निर्णयका आधारमा अर्थ मन्त्रालयले तीनै तहका सरकारी निकायलाई परिपत्र गर्दै स्वकीय सचिव नियुक्ति तथा त्यससँग जोडिएका अनावश्यक खर्च नियन्त्रण गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको थियो । परिपत्रमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्षका लागि सल्लाहकार नियुक्त गर्न नपाइने तथा संघ र प्रदेशका मन्त्रीले स्वकीय सचिवालयमा बढीमा तीनजना मात्र नियुक्त गर्न पाउने व्यवस्था गरिएको थियो । त्यस्तै, अन्य राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णयसमेत गरिएको थियो ।

स्वकीय सचिवालयका कर्मचारीका लागि मन्त्रालयमा कार्यकक्ष नराख्ने, सवारीसाधन, वैदेशिक भ्रमण तथा अन्य भौतिक सुविधा उपलब्ध नगराउने व्यवस्था पनि गरिएको थियो । प्रेस समन्वयका लागि थप कर्मचारी नियुक्त नगरी सम्बन्धित निकायकै प्रवक्ता तथा सूचना अधिकारीबाट काम गराउने व्यवस्था थियो । तर, कार्की नेतृत्वको अघिल्लो सरकारले स्वकीय सचिव नियुक्तिमा लगाएको उक्त कडाइ वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले फुकुवा गरेको छ । यसअघि लागू गरिएका सीमितता हटाउँदै स्वकीय सचिव नियुक्तिको बाटो पुनः खुला गरिएको छ ।

सुझावित समाचार