पानीको बहाब बढेपछि कमलाको बाँधमा राखियो बालुवाका बोरा, तटीय क्षेत्रमा उच्च सतर्कता

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

पछिल्लो तीन दिनदेखि परेको लगातारको वर्षासँगै कमला नदीमा पानीको बहाब बढेपछि पूर्वी बाँध बलियो बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। लगातारको वर्षापछि आइतबार अपराह्न कमला नदीमा पानीको बहाब प्रतिसेकेन्ड नौ सय क्युसेक पुगेपछि क्षतिबाट जोगाउन सुरक्षाकर्मी परिचालन गरी बाँधमा बालुवाको बोरा राखिएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।

बरालका अनुसार सिराहा नगरपालिका– ६, बासबिट्टा गाउँमा बाढी पस्ने जोखिम घटाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बाँधको छेउमा बोरा राखेर पूर्वी बाँध थप सुरक्षित बनाउने काम गरिएको हो।

तटीय क्षेत्रमा सुरक्षा सतर्कता
उनका अनुसार जिल्ला हुँदै बग्ने कमला, बलान, गागन, खुट्टीलगायतका खोला नदीका तटीय क्षेत्रमा सुरक्षा सतर्कताका लागि माइकिङ गर्दै विपत् व्यवस्थापनका सामग्रीसहित सुरक्षाकर्मी खटाइएको छ। ‘सशस्त्र प्रहरीतर्फ दुई सय र नेपाली सेनाका २५० सुरक्षाकर्मीलाई  आवश्यकतानुसार तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘सुरक्षा अवस्था बुझ्न नेपाल प्रहरी नियमित रूपमा फिल्डमा खटिएको छ।’ 

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार शुक्रबारदेखि नै कमला नदीको तटीय क्षेत्रमा पर्ने बन्दीपुर, कल्याणपुर नगरपालिकाको चिकना, सिराहा नगरपालिका ६ बसबिट्टा, १७ माडर र बलान नदीको तटीय भू–भाग लहान नगरपालिका १० खुट्टी र भगवानपुर गाउँपालिका ४ भगवानपुरमा ८३ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।

विभिन्न ठाउँमा भइरहेको भारी वर्षासँगै स्थानीय खोला नदीमा पानीको बहाब बढ्न थालेपछि जिल्लाका ६ ठाउँका तटीय क्षेत्रमा विपत् व्यवस्थापनसम्बन्धी सामग्रीसहित सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए।  

‘जोखिमको स्तरअनुसार गणबाट विपत् व्यवस्थापनका सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा टोली परिचालन गरिएको छ,’ उनले भने, ‘खोला, नदीमा लगातार पानीको सतह बढिरहेकाले मानवीय र भौतिक क्षति हुन नदिन सशस्त्र प्रहरी माइकिङसहित सर्वसाधारणलाई घरबाहिर ननिस्किन आग्रह गर्दै उच्च सतर्कतासहित तटीय क्षेत्रमा खटिएको छ।’

लगातारको वर्षा र बाढीले मानवीय र भौतिक क्षति नभए पनि शुक्रबार हावाहुरीले नरहा, विष्णुपुर, गोलबजारलगायतका ठाउँका किसानले लगाएका उखु ढलेर क्षति पुगेको छ।

सुझावित समाचार