हेटौँडा– १६ मा १० वटा विद्युत् पोल ढले, धरान–चतरा सडक एकतर्फी अवरुद्ध

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

लगातारको वर्षाले जमिन कमजोर भएपछि हेटौँडा उपमहानगरपालिका– १६ मा १० वटा विद्युत् पोल ढलेका छन् । गएराति ढलेका पोल सडकमा परेपछि धरान–चतरा सडकखण्डअन्तर्गत हटिया बजारदेखि चिसापानीसम्मको आवागमन एकतर्फी अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार हेटौँडा– १६ को हटिया बजारदेखि चिसापानीसम्म विभिन्न स्थानमा विद्युत् पोल ढलेका हुन् । पोल सडकमा ढलेपछि पूर्ण रूपमा सवारीसाधन सञ्चालन गर्न केही समय लाग्ने उनले बताए ।

‘लगातारको वर्षाका कारण जमिन कमजोर भएपछि विद्युतका पोल ढलेका हुन सक्छन्,’ उनले भने, ‘सडकमा ढलेका पोल हटाउन सुरक्षा निकाय र विद्युत् कार्यालयका कर्मचारी परिचालन भइसकेका छन् ।’

पोल ढल्दा कुनै मानवीय वा अन्य भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । तर, विद्युत् प्रसारणमा अवरोध हुँदा हटिया तथा आसपासका क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ ।

ढलेका पोलमा विद्युत् तारसमेत जोडिएकाले सुरक्षित रूपमा हटाउने काम भइरहेको छ । विद्युत् कार्यालयसँग समन्वय गरी लाइन सुरक्षित बनाएपछि मात्रै पोल हटाउने र सडक सञ्चालन गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

धरान–चतरा सडक पूर्व–पश्चिम आवागमनका लागि प्रयोग हुने महत्त्वपूर्ण मार्गमध्ये एक हो । सडकमा एकैपटक धेरै विद्युत् पोल ढलेपछि हेटौँडा– १६ खण्डमा सवारी आवागमन एकतर्फी भएको छ ।

प्रहरीका अनुसार विद्युत् कार्यालयका प्राविधिक र सुरक्षाकर्मीले संयुक्त रूपमा अवरोध हटाउने काम गरिरहेका छन् । लगातारको वर्षाका कारण मकवानपुरका विभिन्न क्षेत्रमा पहिरो, सडक भासिने तथा रुख र विद्युत् संरचना ढल्ने जोखिम बढेको छ । 

प्रहरीले वर्षा जारी रहेकाले जोखिमयुक्त सडक र विद्युत् संरचनाआसपास सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

सुझावित समाचार