आज मध्यराति पश्चिममा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति पश्चिम नेपालमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिएको छ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार वर्षाका तीनवटा प्रणाली एकसाथ सक्रिय हुँदा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। अहिले लुम्बिनी क्षेत्रमा ठुलो पानी परिरहेको छ। ‘राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षा हुने देखिएको छ,’ उनले भने। 

पश्चिममा मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तर (नेपालनजिक) छ भने पश्चिमी वायुका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव छ। उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म छोएको भारतको मौसम विज्ञान विभागले शनिबार राति जारी गरेको चेतावनी नक्सामा देखिन्छ। उसले भारतको उत्तराखण्डमा शनिबार र आइतबारसम्मका लागि रेडअलर्ट जारी गरेको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतिले न्यून चापीय क्षेत्रले पश्चिम तराईका जिल्ला छोएको र यो प्रक्रियाले मध्यरातिबाट ठुलो वर्षा गराउने देखिएको बताए । ‘राति ११, १२ बजेदेखि ४ बजेसम्म ठुलो वर्षा हुने देखिन्छ । सुदूरपश्चिम र लुम्बिनीमा तराईसँगै चुरेमा अझ बढी असर पार्ने देखिएको छ ।

डुबान र चुरेका खहेरे खोलामा बाढी आउने जोखिम देखियो,’ उनले भने, ‘यसको असर गण्डकी, बागमती र मधेशसम्म देखिन्छ ।’ यो प्रणाली आइतबार दिउँसोबाट भने कमजोर हुने आकलन गरिएको छ ।

सुझावित समाचार