करिब पाँच वर्षअघि निर्माणको अन्तिम चरणको काम भइरहेको समयमा बाढीले क्षतिग्रस्त बनाएको हुलाकी सडकअन्तर्गतको सिराहा–धनुषा जोड्ने कमला पुल पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ ।
पुलको पुनर्निर्माणका लागि निर्माण सामग्री ओसारपसार र सर्वसाधारणको सहज आवतजावतका लागि टेन्डरमार्फत बनाइएको अस्थायी डाइभर्सन गत असारको पहिलो साता आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । डाइभर्सन पनि भत्किएपछि अप्ठ्यारो झेल्दै आएका सर्वसाधारण पुनर्निर्माण अन्तिम चरणमा पुगेपछि आशावादी बनेको सिराहाका बद्री यादवले बताए । सिराहा नगरपालिका– ६ का वडाध्यक्ष इन्द्रजित यादव भन्छन्, ‘भासिएको पुलको पाया उठाएपछि वर्षौँदेखि कमलाको भेलमा हेलिएर वारपार गर्न बाध्य सर्वसाधारणमा आशाको सञ्चार त भएको छ, तर पुलमा हिँड्न पाउने हुन् कि होइनन् भन्ने अझै आशंका छ ।’
निर्माण र बिमा कम्पनीबिचको बिमा रकमसम्बन्धी विवादले सुस्त रहेको कमला पुल पुनर्निर्माणले गत मंसिरमा चुनावी सरकारका तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङसहितको टोलीले स्थलगत अनुगमन गरेपछि केही गति लिएको थियो । आगामी मंसिरसम्म पुल सञ्चालन गर्न सकिने हुलाकी सडकअन्तर्गत कमला पुल हेर्दै आएका हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामका साइट इन्जिनियर सूर्यनारायण मण्डलले बताए ।
उनका अनुसार १७ असार ०७८ मा बाढीले भासिएको धनुषातर्फको तेस्रो पाया डेढ मिटर उठाएर सबस्ट्रक्चरको कामसमेत सम्पन्न भइसकेको छ । सिराहातर्फको भासिएको पायाको ठाउँमा डिजाइन परिवर्तन गरी नयाँ थप पाया धसाएर गटर बिमसमेत हालिएको छ । उनले भने, ‘नदीमा पानीको सतह घटेपछि बाँकी पायामा सुपरस्ट्रक्चर र स्ल्याबको काम हुनेछ ।’ पुलको पश्चिमतर्फको एप्रोच सडक निर्माणका लागि माटो भर्ने काम भए पनि बाढीले क्षति पुर्याएकाले वर्षा कम भएपछि पुनः माटो भर्ने काम हुने उनले बताए ।
पुल नहुँदा डुंगाको यात्रा
कमला पुलको पुनर्निर्माण सम्पन्न नहुँदा धनुषातर्फका कमला र विदेह नगरपालिका तथा जनकनन्दनी गाउँपालिकाअन्तर्गत पर्ने सघारा, टडिया, लक्कड, बडेर्वा, लगमा, पतनुका, बनरझुला, फूलबरिया तथा सिराहा नगरपालिकाअन्तर्गत बसबिट्टा, बडेर्वा, मानपुर, खरसलवाका बासिन्दाले वस्तुभाउ चराउन, घाँसपात गर्न, दैनिक किनमेल, हाटबजार, आर्थिक कारोबारका लागि ठुलो कष्ट झेल्दै आएको स्थानीयको गुनासो छ । पुल नहुँदा धनुषा र सिराहा आउने–जाने प्रतिव्यक्ति २० रुपैयाँ र मोटरसाइकलको ५० रुपैयाँ तिरेर डुंगाको यात्रा गर्न बाध्य छन् ।