हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने दुई वैकल्पिक सडक कान्ति लोकपथ र फाखेल सडक अझै अवरुद्ध छन् । कान्ति लोकपथको मकवानपुरखण्ड पूर्ण रूपमा सञ्चालनमा आए पनि ललितपुरखण्डमा पहिरो पन्छाउने काम जारी रहेकाले सवारी आवागमन खुल्न सकेको छैन । फाखेलतर्फको सडकसमेत अवरुद्ध रहेकाले हाल त्रिभुवन राजपथ र सिस्नेरी हुँदै काठमाडौं आवतजावत गर्न सकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कान्ति लोकपथ सडक योजनाका इन्जिनियर साजन न्यौपानेका अनुसार कान्ति लोकपथको मकवानपुर खण्ड शुक्रबार नै पूर्ण रूपमा सञ्चालनमा आएको हो । तर, ललितपुर खण्डमा पहिरो पन्छाउने र सडक सफाइको काम जारी रहेकाले कान्ति लोकपथमा नियमित सवारी आवागमन सञ्चालन हुन सकेको छैन ।
ललितपुरखण्डमा शनिबार बिहानैदेखि तीनदेखि चारवटा मेसिन परिचालन गरेर पहिरो पन्छाउने काम भइरहेको न्यौपानेले जानकारी दिए । उनका अनुसार बिहान ९ देखि १० बजेसम्म पहिरो पन्छाउने लक्ष्यसहित काम भइरहेको छ । मौसम अनुकूल रहे दिउँसोसम्म सडक सफाइ सम्पन्न गरी सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए ।
मकवानपुरतर्फको सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेकाले ललितपुर खण्डमा बाँकी रहेको पहिरो पन्छाउने काम सम्पन्न भएपछि कान्ति लोकपथ हुँदै हेटौँडा–काठमाडौं आवतजावत गर्न सकिने न्यौपानेले स्पष्ट पारे ।
यता, हेटौँडाबाट काठमाडौं जोड्ने अर्को वैकल्पिक मार्ग फाखेलतर्फको सडक पनि अवरुद्ध छ । इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलामा पहिरो खसेपछि फाखेल सडकमा सवारी आवागमन बन्द भएको हो ।
पूर्वाधार विकास कार्यालय, हेटौँडाका प्रमुख सुजन भण्डारीका अनुसार महालक्ष्मी खोलामा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । सडकमा रहेको पहिरो हटाएर सवारी सञ्चालन गर्ने प्रयास भइरहेको भन्दै उनले मौसम अनुकूल रहे शनिबार दिउँसोसम्म फाखेलतर्फ पनि सवारी आवागमन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जानकारी दिए ।
फाखेलतर्फको सडक अवरुद्ध रहे पनि सिस्नेरी खण्डमा भने सवारी आवागमन सञ्चालन भइरहेको भण्डारीले बताए । उनका अनुसार सिस्नेरीतर्फ सडकमा रहेका स–साना पहिरो सफा गर्ने कामसमेत भइरहेको छ । सडक सफाइको काम जारी रहे पनि सिस्नेरी हुँदै काठमाडौं आवतजावत गर्न सकिने उनले स्पष्ट पारे ।