ब्राउनसुगरजस्तो पदार्थसहित दुईजना पक्राउ

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

बाराको जितपुर–सिमरा उपमहानगरपालिका– ५, बकुलियाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुईजना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा औद्योगिक सुरक्षा बेस जितपुरबाट खटिएको टोलीले बुधबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक भुलबहादुर थापाको कमान्डमा खटिएको नौजनाको गाडी मोबाइल टोलीले वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००९ प ३७५६ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई शंकास्पद अवस्थामा जाँच गरेको थियो।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका– ४ का २८ वर्षीय हुसनयन अन्सारी र वीरगन्ज महानगरपालिका– १४ का १८ वर्षीय राजन पासवान छन्।

उनीहरूको साथबाट करिब ८० ग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थ, तीन थान मोबाइल, एक थान पर्स र एक हजार ११० रुपैयाँ नगद बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरा, बारामा बुझाइएको छ।

सुझावित समाचार