राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दसैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छिन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सेन्चुरीले कानुनी प्रक्रिया पूरा गरी थुनामा रहेका युवाहरूलाई दसैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।
आन्दोलनमा सहभागी भएकै आधारमा वा क्यामेरामा अनुहार देखिएको भरमा युवाहरूलाई लामो समयदेखि थुनामा राखिएको भन्दै उनले आपत्ति जनाइन्। केही दिनअघि संसदमा सहिदकी आमाले न्यायका लागि बगाएको आँसुको प्रसंग स्मरण गर्दै उनले थुनामा रहेका युवाका परिवारको पीडाप्रति सरकार गम्भीर हुनुपर्ने बताइन्।
‘कोही सडकबाट सदनसम्म आइपुगे, तर आन्दोलनमा सहभागी युवाहरू अझै आफ्नो घरको आँगनसम्म पुग्न पाएका छैनन्,’ उनले भनिन्।
आफूहरूले पटक–पटक सम्बन्धित मन्त्रालयमा विषय उठाएर सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको उनले बताइन्। सरकार कुन प्रक्रियामा अड्किएको हो र कसको निर्णयको पर्खाइमा छ भन्नेबारे स्पष्ट पार्न पनि उनले माग गरिन्।
दसैँमा देशभर खुसियाली छाउने भए पनि थुनामा रहेका युवाका परिवारमा भने आफ्ना सन्तान घर फर्कने आशा र पीडाको अवस्था रहेको उनको भनाइ थियो।