फागुन २१ को चुनाव त्यसअघिका घटनाको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

 नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले फागुन २१ गतेको निर्वाचनलाई त्यसअघिका राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’का रूपमा व्याख्या गरेकी छन्। केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले निर्वाचनमा एमालेको भूमिका कमजोर हुनुमा अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै जिम्मेवार ठहर गर्न नहुने बताइन्। पार्टीभित्रका कमजोरीको सम्पूर्ण अपजस अध्यक्षमाथि थोपरेर पार्टी बलियो बन्न नसक्ने उनको भनाइ थियो।

भण्डारीले पार्टी पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्पसहित बैठकलाई अघि बढाउनुपर्ने बताइन्। अध्यक्ष ओलीले प्रस्तुत गरेको १३ बुँदे समीक्षा तथा आत्मसमीक्षाको प्रतिवेदनलाई पार्टीको आगामी दिशाका लागि आधार बनाउनुपर्ने उनले बताइन्।

पछिल्ला राजनीतिक घटनाक्रममा एमालेविरुद्ध विभिन्न भाष्य निर्माण गरिएको दाबी गर्दै उनले भदौ २३ र २४ गतेका घटनालाई ‘केपी ओलीविनाको एमाले र एमालेविनाको देश बनाउने षड्यन्त्र’का रूपमा बुझ्नुपर्ने बताइन्।

पार्टी नीति र विधिविपरीत सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम प्रयोग गर्ने प्रवृत्तिमाथि आवश्यक कारबाही गर्नुपर्ने उनको सुझाव थियो। युवामाझ कार्यक्रम विस्तार गर्ने, प्रवासी नेपालीलाई पार्टीसँग जोड्ने र एमालेका सकारात्मक कामलाई डिजिटल माध्यमबाट प्रभावकारी रूपमा प्रचार गर्नुपर्ने उनले बताइन्।

सुझावित समाचार