सरकारी र नगर विकास समितिकाे जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति कालिकोटका अध्यक्ष धिरबहादुर बमसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
कर्णाली राजमार्गसँगै जोडिएको खाँडाचक्र नगर विकास समितिको स्वमित्वमा रहेको जग्गा व्यक्तिको नाममा ल्याएको आरोपमा बमसहित, समितिका विज्ञ सदस्य रमेश नेपाली, सदस्य राजेन्द्र बहादुर थापा, तत्कालीन मालपोत प्रमुख नेत्रबहादुर शाही र खाँडाचक्र १ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष भरत बहादुर शाहीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो।
अख्तियारले मालपोतका सहायक कम्प्युटर अपरेटर वीरेन्द्र बहादुर शाही, तत्कालीन ना.सु मुकुन्द बस्नेत, कार्यालय सहयोगी (करार) भक्तबहादुर शाही तथा जग्गा प्राप्त गर्ने अंखपुरा शाही, प्रदिपे दमाई, दिपबहादुर शाही र नरेन्द्र बहादुर थापासमेतलाई प्रतिवादी बनाएको छ।
उनीहरुले आपसी मिलेमतोमा कर्णाली राजमार्गसँगै जोडिएको खाँडाचक्र नगर विकास समितिको स्वमित्वमा रहेको कित्ता नं १७७२ तथा सरकारी प्रकृतिको कित्ता नं ५७२ र ९२१ का जग्गा व्यक्तिको नाममा दर्ता गरे/गराएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
समितिले उक्त जग्गाको सिफारिस गर्दा स्थलगत निरीक्षण नगरी न्युनतम विधि र प्रकृया मिचेको, जग्गा उपलब्ध गराउँदा नियमविपरीत बजार क्षेत्रमा तोकिएको १३० वर्गमिटर क्षेत्रफलको सीमाभन्दा बढी जग्गा कृषि प्रयोजनको लागि उपलब्ध गराएको आरोपपत्रमा उल्लेख छ।
आरोपपत्रअनुसार जग्गा पाउनेहरुको अन्यत्र घरजग्गा रहेको तथ्य भूमि प्रशासन कार्यालय (साबिक मालपोत कार्यालय) कालीकोटको अभिलेखबाट पुष्टि भएको छ। साथै दिपबहादुर शाहीले जग्गाधनी प्रमाण पूर्जा पाएको चार वर्ष र जग्गाधनी दर्ता श्रेस्ता अद्यावधिक भएको दुई वर्ष नपुग्दै बिक्रीसमेत गरेको देखिएको छ।
अख्तियारले अध्यक्ष बम, सदस्यहरु नेपाली र थापा तथा मालपोत प्रमुख शाहीविरुद्ध एक करोड ७६ लाख ८६ हजार आठ सय, का.वा वडाध्यक्ष शाहीविरुद्ध एक करोड ९४ हजार चार सय तथा ना.सु बस्नेत र कार्यालय सहयोगी शाहीविरुद्ध ७५ लाख ७२ हजार चार सय बिगो कायम गरेको छ।
यसैगरी, जग्गा प्राप्त गर्ने अंखपुरा, प्रदिपे र दिपबहादुरसँग क्रमशः ४३ लाख ८८ हजार, ५७ लाख र ७५ लाख ९२ हजार मागदाबी गरिएको छ भने नरेन्द्र बहादुरलाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आरोपपत्रमा उल्लेख छ।