नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा रहेको भन्दै त्यसको समाधानका लागि राष्ट्रिय एकता र पार्टी एकता आवश्यक रहेको बताएका छन्। तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ज्ञवालीले संकटको सामना गर्न पार्टी, आन्दोलन, लोकतन्त्र र राष्ट्रकै एकता अपरिहार्य रहेको र त्यसको अगुवाइ एमालेले गर्नुपर्ने बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पपुलिज्म र अराजकताको जगमा उभिएको शक्ति भएकाले दीर्घकालीन रूपमा असफल हुने दाबी गरे। तर, रास्वपा असफल हुँदैमा एमाले स्वतः सफल नहुने भन्दै पार्टीलाई सुदृढ र रूपान्तरित बनाउनुपर्ने आवश्यकता उनले औँल्याए। ज्ञवालीले एमालेलाई सत्ता र प्रमुख प्रतिपक्ष दुवै भूमिकाबाट बाहिर राख्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्न पार्टीभित्र बलियो एकता र संगठनात्मक सुदृढीकरण आवश्यक रहेको बताए।
उनका अनुसार पार्टी पुनर्जागरणको मुख्य आधार आन्तरिक एकता हो। पार्टीभित्र वैचारिक समस्या नरहे पनि केही विषयमा दृष्टिकोणको भिन्नता रहेको र निर्वाचनपछिको परिस्थितिलाई लिएर विकसित बहसले ध्रुवीकरण बढाउँदै भावनात्मक विभाजन सिर्जना गरेको उनले बताए।
निर्वाचनको परिणामलाई सामूहिक चुनौतीका रूपमा लिएर जनतामा आशा र भरोसा विस्तार गर्नुपर्ने समयमा पार्टीभित्र अस्वस्थ अवस्था देखिएको ज्ञवालीको भनाइ थियो। पुनर्गठनको बहस व्यक्तिकेन्द्रित बनेको, अध्यक्षलाई सम्पूर्ण समस्याको कारकका रूपमा चित्रित गर्ने प्रयास भएको तथा त्यसका कारण पार्टीका नियमित कामसमेत प्रभावित भएको उनले बताए।
ज्ञवालीले कार्यदलको प्रतिवेदनलाई पार्टी एकताको आधार बनाएर अघि बढ्नुपर्ने सुझाव दिए। त्यसको नेतृत्व अध्यक्ष केपी ओलीले गर्नुपर्ने भन्दै उनले ओली अब आन्तरिक संघर्षमा भन्दा योजनाबद्ध नेतृत्व विकास र पार्टीभित्र भावनात्मक एकता निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखे।
पार्टीलाई लागेको धक्काको प्रमुख कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको उनले बताए। स्थानीय तहमा देखिने प्रतिस्पर्धा, अपेक्षा र त्यसबाट उत्पन्न द्वन्द्वलाई सही ढंगले व्यवस्थापन गर्न नसक्दा समस्या बढेको उल्लेख गर्दै प्रतिस्पर्धापछि पुनः बलियो एकता कायम गर्ने नयाँ विधि खोज्नुपर्ने उनको भनाइ थियो।
ज्ञवालीले कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएका कार्यभारसँगै जनजीविकाका मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। जनतासँगको सम्बन्ध मजबुत बनाउन जनजीविकासँग जोडिएका विषयमा पार्टीले विशेष ध्यान दिनुपर्ने उनले बताए।
बैठकमा चर्चामा आएको ‘प्रदीप ज्ञवालीको प्रतिवेदन’ सम्बन्धी विषयमा उनले आफ्नो कुनै छुट्टै प्रतिवेदन नरहेको स्पष्ट पारे। पार्टीभित्र समस्या उत्पन्न हुँदा समन्वयकारी भूमिका निर्वाह गर्नु गल्ती नभएको भन्दै उनले ध्रुवीकरण चर्किएका वेला कुनै एक पक्षमा उभिएर अतिवादी धारणा राख्दा मिडियामा चर्चा पाए पनि त्यसले समस्या समाधान नगर्ने बताए।
पार्टीभित्रका विषयलाई मिडिया ट्रायल गर्ने र असहमतिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै ज्ञवालीले त्यसले क्षणिक चर्चा दिलाए पनि दिगो नेतृत्व निर्माण गर्न नसक्ने टिप्पणी गरे।