परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन सत्रमा सहभागी

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी भएका छन्। मंगलबारदेखि अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा महासभाको उच्चस्तरीय छलफल सुरु भएको हो।

नेपाली प्रतिनिधिमण्डलसहित उद्घाटन सत्रमा सहभागी परराष्ट्रमन्त्री खनालसँगै परराष्ट्रसचिव अमृतबहादुर राई, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, सहसचिव कृष्णप्रसाद ढकाललगायत अधिकारीहरू सहभागी छन्।

महासभाको उच्चस्तरीय छलफलअन्तर्गत एक सातासम्म हुने विभिन्न उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय छलफल तथा साइड इभेन्टमा परराष्ट्रमन्त्री खनाल सहभागी हुने कार्यक्रम छ। यस क्रममा उनले विभिन्न मुलुकका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्नेछन्। उनले सोमबारदेखि नै विभिन्न भेटवार्ता सुरु गरिसकेका छन्।

महासभाका क्रममा नेपालले ‘सगरमाथा टू सी’ नामक साइड इभेन्ट आयोजना गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्बाट सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने नेपालको तयारी छ।

त्यसैगरी, परराष्ट्रमन्त्री खनालले अति कम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न आन्दोलन तथा जी–७७ र चीनलगायतका मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनेछन्।

८१औँ महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २८ सम्म सञ्चालन हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल मंगलबार साँझ न्युयोर्कतर्फ प्रस्थान गरेको छ। 

सुझावित समाचार