समाज कल्याण परिषद्को सेवा प्रवाह डिजिटल बनाउन मन्त्री बादीको जोड

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री एवं समाज कल्याण परिषद्की अध्यक्ष सीता बादीले परिषद्को सेवा प्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउन डिजिटाइजेसनमा जोड दिएकी छिन् ।समाज कल्याण परिषद्को ४९औँ स्थापना दिवस तथा ४७औँ सामाजिक सेवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले डिजिटल सेवा विस्तारसँगै सेवाग्राहीले टाढाटाढाबाट काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने बताएकी हुन् ।

उनले  सामाजिक संघसंस्थाको योगदानलाई थप प्रभावकारी, समन्वयित, पारदर्शी र दिगो बनाउनुपर्नेमा जोड दिइन् । सेवाभावलाई केन्द्रमा राखेर विशेषगरी ग्रामीण तथा सीमान्तकृत समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न उनले सामाजिक संघसंस्थालाई आग्रह गरेकी छिन् ।  नेपाल सरकारका नीति तथा प्राथमिकतासँग समन्वय गर्दै सामाजिक संघसंस्थाको योगदानलाई दिगो विकासका लक्ष्यअनुरूप परिणाममुखी बनाउनुपर्ने उनकाे भनाइ छ।

मन्त्री बादीले शिक्षा, स्वास्थ्य, सिप विकास, महिला तथा बालबालिका, सीमान्तकृत समुदाय, अपांगता भएका व्यक्ति, वातावरण, रोजगारी, कृषि तथा सामाजिक संरक्षणलगायत क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले पुर्याउँदै आएको योगदानको प्रशंसा गरिन् । 

रसुवा–भोटेकोशी क्षेत्रमा आएको विपतका क्रममा राहत व्यवस्थापन तथा पुनर्स्थापनामा सामाजिक संघसंस्थाले खेलेको भूमिकाको पनि उनले प्रशंसा गरेकी छिन् । परिषद्को कार्यक्रम स्वीकृति, सहजीकरण, समन्वय, अनुगमन, मूल्यांकन तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएकी छिन् । 

स्थापना दिवसलाई सामाजिक संघसंस्था तथा समाजसेवीले आफ्ना कामको समीक्षा र स्वमूल्यांकन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउँदै मन्त्री बादीले समाज कल्याण, सेवा र विकासका कार्यलाई अझ प्रभावकारी, व्यापक र जनमुखी बनाउन आग्रह गरेकी  छिन् । 

उनले  दिवसका अवसरमा सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था एवं समाजसेवीलाई शुभकामना दिँदै सामाजिक क्षेत्रमा भएका प्रयासले देश विकासमा थप ठोस योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । 

सुझावित समाचार