सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे।

सभामुखले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबिचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुगेको बताए। उनले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी विपतका क्रममा भारत सरकारले पहिलो उद्धारकर्ता तथा विश्वसनीय छिमेकीका रूपमा उपलब्ध गराएको सहयोगप्रति विशेष आभार व्यक्त गरे।

भारतीय वायुसेनाका विमानमार्फत राहत तथा उद्धार सामग्री नेपाल ल्याइनुका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ टोली तथा फरेन्सिक विज्ञसहितको प्राविधिक सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै उनले विपतकाे कठिन समयमा प्राप्त यस सहयोगले नेपाल र भारतबिच विद्यमान मैत्री, सदभाव, ऐक्यबद्धता र सहकार्यको गहिरो सम्बन्धलाई थप प्रतिबिम्बित गरेको बताए।

भेटमा नयाँ प्रतिनिधिसभाको गठनपछि गठन भएको नेपाल–भारत संसदीय मैत्री समूह तथा यसमार्फत अघि बढाउन सकिने अन्तर–संसदीय सहकार्यका विषयमा पनि छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख अर्यालले संसदीय कूटनीतिले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यसबाट दुवै देशका सांसदहरूबिच आपसी समझदारी, अनुभव आदान–प्रदान र सहकार्य विस्तार गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।

सभामुख अर्यालले भारतीय संसद्लाई लोकतन्त्रको सुदृढ संस्थाका रूपमा नेपालले उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यास, संसदीय अनुभव तथा असल अभ्यासहरूको आदान–प्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सो अवसरमा राजदूत श्रीवास्तवले रसुवामा भएको क्षति अकल्पनीय रहेको बताउँदै भारतले राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गरिरहेको जानकारी गराए। संकटको घडीमा भारत सधैँ नेपालको साथमा रहने प्रतिबद्धता उनले व्यक्त गरे।

श्रीवास्तवले २५ जुन २०२२ मा नेपालका लागि भारतका राजदूतका रूपमा कार्यभार सम्हालेका थिए। सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका उनले यसअघि हङकङ, बेइजिङ र वासिंटन डिसीस्थित भारतीय नियोगमा काम गर्नुका साथै चीनको सांघाईस्थित भारतीय महावाणिज्य दूतावासको महावाणिज्यदूत, कम्बोडियाका लागि भारतीय राजदूत तथा सांघाईस्थित न्यू डेभलपमेन्ट बैंकमा जिम्मेवारी सम्हालेका थिए।

सुझावित समाचार