प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटवार्तामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेता विश्वप्रकाश शर्मा सहभागी थिए।
भेटमा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता तथा त्यहाँ नेपालले उठाउने विषयबारे छलफल भएको बताइएको छ। महासभामा नेपालको धारणा र प्राथमिकताका विषयमा आवश्यक परामर्श गर्न प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका थिए।
प्रधानमन्त्री शाह मंगलबार अपराह्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने तयारीमा छन्। उनले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्नेछन्।