नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टी र नेता–कार्यकर्तामाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको आरोप लगाएका छन्। ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनमा पार्टीले व्यहोरेको पराजयबारे धारणा राखेका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले निर्वाचन परिणामको गम्भीर समीक्षा गर्नुपर्ने बताए। उनले एमालेमाथि अन्य दल तथा समूहको तुलनामा बढी आक्रमण भएको दाबी गरे।
‘यो सरकारमा रहेकाहरूबाहेक सबैलाई आक्रमण गरियो। अरूमाथि भन्दा हामीमाथि धेरै आक्रमण गरियो,’ ओलीले भने, ‘यस पार्टीको नेताका हिसाबले ममाथि सबैभन्दा बढी आक्रमण गरियो।’
ओलीले सरकार गठन भएको भोलिपल्ट आफूलाई गिरफ्तार गरिएको उल्लेख गर्दै उक्त घटनालाई ‘प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण’ व्यवहारका रूपमा व्याख्या गरे। उनका अनुसार चैत १३ गते सरकार गठन भएपछि चैत १४ गते उनलाई गिरफ्तार गरिएको थियो।
उनले गत भदौ २४ गते एमालेका नेता तथा कार्यकर्ताका घर तथा सम्पत्तिमा आगजनी र लुटपाट भएको दाबी पनि गरे। त्यसक्रममा पार्टीका नेता–कार्यकर्तालाई आर्थिक रूपमा ठुलो क्षति पुगेको उनको भनाइ थियो।
‘भदौ २४ गते भएभरका सबै सम्पत्ति जलाएर, लुटेर हामीलाई सुकुमवासी बनाइयो,’ ओलीले भने।
ओलीले वर्तमान राजनीतिक अवस्थालाई ‘अधिनायकवाद’को संज्ञा दिँदै त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन्। उनले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने एमालेको धारणा रहेको पनि बताए।
उनले पार्टीमाथि प्रतिबन्ध लगाइएको, राहदानी रोक्का गरिएको तथा बलजफ्ती निर्वाचन घोषणा गरिएको आरोप लगाए। साथै, लुटिएका हतियार फिर्ता नभएको, कैदीहरू बाहिर रहेको र ‘राज्यआतंक’ जारी रहेको दाबी गरे।