एरिका गुरुङ, मीनबहादुर तामाङ र राकेश मानन्धर जापानको नागोया–आइचीमा चलिरहेको २०औँ एसियाली खेलकुदको सेमिफाइनलबाट बाहिरिएका छन्। आइतबार नागोयाको तोयोहासी जिम्यासिंउम हलमा तीनै खेलाडी सेमिफाइनलबाट अगाडि बढ्न नसक्दा नेपालको स्वर्णसहित दोहोरो पदकमा ठूलो धक्का लागेको छ।
एसियाली खेलकुदमा राकेश मानन्धरले ५५ केजीमुनि, मीनबहादुर तामाङले ६० केजीमुनि र एरिका गुरुङले ६८ केजीमाथि पदक प्रतिस्पर्धा गरेका हुन्।
एरिकाले गत संस्करण चीनमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। उनी रजत पदक जित्ने तेक्वान्दोकी सविता राजभण्डारी र प्याराग्लाइडिङपछि नेपालको तेस्रो खेलाडी हुन्। समग्रमा कराँतेतर्फ भने पहिलो खेलाडी हुन्।
आइतबार नागोयामा भएको ६८ केजीमाथिको सेमिफाइनलमा नेपालकी ऐतिहासिक एरिका कजाकस्तानकी बेरुल्टसेभा साफ्यासँग २–१ ले पराजित भइन्। एरिकाले युकोबाट एक अंक हासिल गर्दा सोफ्याले दुई अंक हासिल गर्दै जितको आधार तय गरेकी हुन्।
२२ वर्षीय एरिका कांस्य पदकमै चित्त बुझाउन पुगिन्। यसअघि एरिकाले प्रिमियर लिग र एसियन च्याम्पियनसिपको रजतलगायत अन्तर्राष्ट्रिय प्रतियोगिताको पदक जितेकी थिइन्।
जापानमा भएको पहिलो प्रतिस्पर्धामा एरिकाले जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्। एरिकाले युकोमा एक, वाजा अरीमा तीन अंक जोडेकी थिइन्। याराले भने युकोमा मात्र एक अंक जितेकी हुन्।
सिधै क्वार्टरफाइनल खेलमा अनुभवी एरिकाले उदीयमान जोर्डनी यारासँग प्रतिस्पर्धा गरेकी थिइन्। यसअघि पनि यी खेलाडीबिच प्रतिस्पर्धा भएको थियो । जुनमा इन्डोनेसियाको बालीमा सम्पन्न २२औँ एसियन सिनियर कराँते च्याम्पियनसिपमा याराले रजत र एरिकाले कांस्य जितेका थिए । २० वर्षीया याराले जितेको यही ठुलो पदक थियो ।
यता, मीनबहादुर कुमुते पुरुष ६० केजीमुनिको सेमिफाइनलमा कुवेतका साहव अब्दुल्लाहसँग १०–१ को लज्जास्पद हार व्यहोर्न पुगे। यसअघि प्रिक्वार्टरफाइनलमा मीनले हङकङका हिम चाउलाई ४–१ ले पराजित गरेका थिए। क्वार्टरफाइनलमा भने मीनले ताजकिस्तानका मिर्जोजोदा मुहम्मदलाई २–० ले हराएका थिए। उनी चलिरहेको एसियाली खेलकुदमा पहिलो खेल जित्ने पहिलो नेपाली खेलाडी बनेका थिए।
अर्कोतर्फ राकेश मानन्धर पनि पुरुष कुमुते ५५ केजी तौलसमूहमा उज्वेकिस्तानका खालिमोभ खुमोयुन्मिर्जोसँग ७–० ले पराजित भए। अनुभवी खालिमोभले युकीमा दुई तथा वाजी र इप्पोनमा समान एक अंक जोडेका थिए। तर, मीनले कुनै पनि अंक जोड्न सकेनन्।
यसअघि राकेशले थाइल्यान्डका इन्ग्लोय नाथक्रितलाई ९–० ले हराए। बलियो चुनौती दिएका राकेशले युकोमा दुई, वाजा अरीमा दुई तथा इप्पोनमा एक अंक हासिल गरेका थिए।