संविधान दिवस : शीतलनिवास र सैनिक मञ्चमा समारोह, शीर्ष नेताको सन्देश

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपति भवन शीतलनिवास र सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भएको छ । शीतलनिवासमा आयोजित समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका छन् । सैनिक मञ्चमा आयोजित समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्दै संविधानप्रति प्रतिबद्धता दोहोर्‍याएका छन् । 

राष्ट्रपति पौडेलले शीतलनिवासमा आयोजना गरेको समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्त्री शाह, सभामुख डोलप्रसाद अर्याल एवं रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेता सहभागी थिए ।

राष्ट्रपति पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जवाफदेही बनाउने संस्कार स्थापित गर्न सके मात्र संविधानले स्थापित गर्न चाहेका संकल्पहरू पूरा हुने बताएका छन् । राष्ट्रपतिले संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने संकल्प गर्नुपर्नेमा जोड दिएका छन् । 

सैनिक मञ्चमा आयोजित समारोहमा प्रधानमन्त्री शाहले संविधानप्रति प्रतिबद्धता दोहोर्‍याए । संविधानले दिएको प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य सर्त नभएर राष्ट्रिय जीवनको आधार भएको उल्लेख गरे ।

प्रमुख दलका नेताले के भने ?
संविधान दिवसका अवसरमा शनिबार रास्वपा सभापति रवि लामिछानेले जारी गरेको सन्देशमा संविधानले परिकल्पना गरेका मौलिक हक सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्नुपर्नेमा पनि जोड दिएका छन् । लामिछानेले भनेका छन्, ‘लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब यसले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्छन् ।’ 

कांग्रेस सभापति गगन थापाले संविधान दिवसका अवसरमा जारी भिडियो सन्देशमा वर्तमान संविधान सात दशक लामो राजनीतिक संघर्षको परिणाम भन्दै संविधान निर्माणको आधार बनाउने र नेतृत्व गर्ने शीर्ष नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मरण गरेका छन् । ‘संविधानको आधारभूत मूल्य–मान्यता जगेर्ना गर्नेछौँ,’ थापाले भने । 

एमाले अध्यक्ष केपी ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै, नेकपा संयोजक प्रचण्डले वर्तमान संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा संस्थागत गर्दै सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको स्मरण गरेका छन् ।

सुझावित समाचार