नेपालले जापानको नागोया र आइची सहरमा शनिबारदेखि आधिकारिक रुपमा २०औँ एसियाली खेलकुद (एसियाड) मा स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्य राखेको छ । यही दुलर्भ लक्ष्य चुम्ने लक्ष्यका साथ नेपाली टोली अहिले जापानमा छन् । यो अभियान तीन वर्षदेखि सुरु भएको हो । चीनको हाङझाउमा भएको १९औँ एसियाडसँगै तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले कराँते, उसु र जुडोलाई मुख्य आधार मान्दै ‘मिसन २६’ सुरु गरेका थिए । राखेपले टिम तयारी बनाए पनि मिसन २६ ले त्यति सार्थकता पाउन सकेन ।
खेलाडीले सोचेको जस्तो तयारी निरन्तरता पाउने सकेनन् । खेलाडीले स्तरीय प्रशिक्षण र सुविधा सरकारबाट पाएनन् । यद्यपि, खेलाडी आफ्नोतर्फबाट लगातार पदक जित्ने लक्ष्यका साथ मिहिनेत गरिरहेका छन् । ‘विगतमा भन्दा धेरै तयारी राम्रो भएको छ । खेलाडीको तयारी सरकारले धेरै राम्रो गरेको छ । हाम्रो योजनाअनुसार दोहोरो अंकमा पदक आउँछ । यसमा दुईमत छैन,’ राखेपले खेलाडीहरूको बिदाइमा भनेको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ फरक मत राख्छन् । श्रेष्ठले पदक आउने, तर स्वर्णसहितको दोस्रोपटक कठिन रहेको बताए । ‘हामीहरू सबै पदक ल्याउन लागि परेका छौँ ।
पदक जित्नै नै हो । कराँतेलगायत खेलबाट सम्भावना पनि छ,’ २०औँ एसियाडको उद्घाटन समारोहअघि श्रेष्ठले भने, ‘तर, सरकारको योजनाअनुसार वास्तवमा स्वर्णसहित दोहोरो अंकको पदक गाह्रो देख्छु ।’ उनले राज्यले खेलाडीका लागि र पदक ल्याउने धेरै काम गर्न बाँकी रहेको विश्लेषण गरेका छन् ।
‘सरकारले गर्छ भन्ने लागेको छ । काम भए पदक आउँछ । तर, योपटक दोहोरो अंकमा पदक आउनु भनेको नेपाली खेलकुदमा कायापलट नै हुनु हो,’ उनले भने, ‘आगामी संस्करणको एसियाडमा छनोट भएका खेललाई मात्रै सहभागिता गराउने विषयमा छलफल भइरहेको छ । त्यस्तो अवस्थामा नेपालजस्तो देशबाट अहिलेको संख्याभन्दा कम खेल र खेलाडीले यस्ता महाकुम्भमा प्रतिस्पर्धा गर्ने अवसर चुकाउनेछन् ।’ उनका अनुसार ओसिएमा छनोट भएका खेलाडी र खेलसंघलाई मात्रै प्रतिस्पर्धा गराउने छलफल चलिरहेको छ । यस्तो निर्णय हुँदा नेपालजस्तो राष्ट्रका खेलाडीलाई घाटा लाग्नु हो ।
२१ खेलमा १३५ खेलाडी
नेपाल ओलम्पिक कमिटीको सूचीअनुसार नागोया र आइचीमा नेपालबाट २१ खेलमा १३५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । सिगो नेपाली टोली सदस्य दुई सय ११ रहेको छन् । सरकारले सुरुमा कराँते, उसु र जुडो तथा बक्सिङलाई पदक आउने खेलको रूपमा वर्गीकरण गरेर अभ्यास सुरु गर्यो । पछि आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, क्यानोई, क्रिकेट, साइक्लिङ, गल्फ, कबड्डी, स्केटबोर्ड, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबुलटेनिस, तेक्वान्दो टेनिस, भलिबल, कुस्ती सहभागी गराएको हो ।
डान्स एन्ड स्पोर्टस्मा सहभागी हुने भनिएपछि खेलाडी घाइते हुँदा नाम फिर्ता लिनुपरेको थियो । कराँतेमा एरिका गुरुङ र बक्सिङमा चन्द्र थापाबाट नेपाली खेलकुदले पदकको ठुलो आशा गरेको छ । उसुका खेलाडी विजय सिन्जाली पदक जित्न प्रयास गर्ने बताउँछन् । ‘तयारी राम्रो भएको हो । सरकारले लामो समय तयारी गराएको छ । हाम्रो लक्ष्य पदक जिताउने हुनेछ । सोहीअनुसार खेल्नछौँ,’ उनले भने ।
हालसम्म तीन रजत २३ कांस्य
सन् १९५१ भारतको नयाँदिल्लीमा भएको पहिलो संस्करणदेखि नेपालले एसियाडमा सहभागिता जनाउँदै आएको छ । समग्रमा नेपालले १९औँ एसियाडसम्म तीन रजत र २३ कांस्य पदक जितेको छ । एसियाली खेलमा पहिलो रजत पदक तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी हुन् । उनले सन् १९९८ मा बैंकक भएको संस्करणमा ऐतिहासिक रजत पदक जितेको हो ।
सन् २०१८ प्याराग्लाइडिङले इन्डोनेसियामा टिम इभेन्ट्समा रजत जित्यो । तीन वर्षअघि हाङझाउमा कराँतेकी एरिकाले रजत पदक जितिन् । नेपालले सन् १९८६ दक्षिण कोरियाको सोलमा भएको एसियाडमा पहिलोपटक पदक जितेको थियो ।
एसियाडमा नेपाललाई पहिलो पदक दिलाउने खेलाडी तेक्वान्दोका विधान लामा हुन् । महिलातर्फ नेपाललाई पहिलो कांस्य दिलाउने तेक्वान्दोकै सीता राई हुन् । यसैगरी, एसियाडमा लगातार दुईपटक कांस्य जित्ने एक मात्र खेलाडी तेक्वान्दोका दीपक विष्ट हुन् । उनले सन् २००३ को बुसान र सन् २००६ को दोहा एसियाडमा कांस्य जितेका थिए ।