आफ्नो कमजोरीलाई संविधानको दोष भनेर पन्छाउनु जायज हुँदैन : प्रदेश प्रमुख देवकोटा

‘सुशासन, पारदर्शिता र जवाफदेहिता भाषणमा होइन, नागरिकले दैनिक जीवनमा महसुस गर्न पाउनुपर्छ’

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनका क्रममा भएका कमजोरीको गम्भीर आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। व्यवस्था सञ्चालन गर्नेहरूको आचरण र प्रवृत्तिमा देखिएका कमजोरीलाई संविधानको दोषका रूपमा देखाएर जिम्मेवारीबाट पन्छिन नमिल्ने उनले बताएका हुन्।

शनिबार हेटौँडामा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसको प्रदेशस्तरीय समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले संविधान कार्यान्वयनको एक दशक लामो यात्रामा केही त्रुटि, कमीकमजोरी र सुस्तता भएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा आवश्यक रहेको बताए।

‘संविधान कार्यान्वयनको एक दशक लामो यात्रामा हामीबाट केही त्रुटि, कमीकमजोरी र सुस्तता अवश्य भएका छन्,’ उनले भने, ‘तर व्यवस्था सञ्चालन गर्ने हाम्रा आचरण र प्रवृत्तिमा रहेका कमजोरीलाई संविधानको दोष भनेर पन्छाउनु किमार्थ जायज हुन सक्दैन।’

आफ्ना कमजोरी स्वीकार नगरी संविधान वा व्यवस्थालाई मात्रै दोष दिन नहुने भन्दै उनले जिम्मेवारीमा रहेकाहरूलाई कार्यशैली सुधार्न आग्रह गरे। संविधानको सर्वोच्चता र न्यायमूलक समाजको अपरिहार्यतालाई कायम राख्दै कानुनी राज्यको उपहास हुने कुनै पनि गतिविधि हुन नहुने उनको भनाइ छ। ‘हाम्रो अनुहारमा धुलोमैलो भएको अवस्थामा ऐना पुछ्नु आफ्नो गल्ती नचिन्नु हो। गल्तीहरू बारम्बार दोहोर्याउनु मूर्खताबाहेक अरू केही होइन,’ उनले भने।

प्रदेश प्रमुख देवकोटाले राज्यका संयन्त्रमा बसेकाहरूले अधिकारभन्दा पहिले कर्तव्य र दायित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताए। सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहिताको अनुभूति नागरिकले भाषणमा मात्र नभई दैनिक जीवनमै गर्न पाउनुपर्नेमा उनले जोड दिए। नयाँ पुस्ताको चासो, आक्रोश र चाहनालाई राज्य सञ्चालनमा रहेकाहरूले बुझ्नुपर्ने बताउँदै उनले युवा पुस्ताको ऊर्जालाई मुलुकको विकासमा लगाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरे।

वर्तमान संविधानको परिधिभित्रै रहेर विकास, समृद्धि र सुशासनको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै देवकोटाले संविधानले निर्दिष्ट गरेको मार्गमा अघि बढेर सभ्य र समतामूलक समाज निर्माणका लागि साझा प्रयास आवश्यक रहेको बताए।

संविधान दिवस मनाइरहँदा हालै भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिले आफूलाई स्तब्ध बनाएको पनि प्रदेश प्रमुख देवकोटाले बताए। बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उपलब्ध गराएको विवरण यसअघि नै सार्वजनिक भएको थियो। विपतको समयमा नागरिकले राज्यका सबै निकायबाट प्रभावकारी उपस्थितिको अपेक्षा गर्ने भन्दै उनले पीडितको दुःखमा साथ दिन सबै पक्षलाई आग्रह गरे।

‘यस्तो वेलामा राज्यको गहन उपस्थिति अनिवार्य हुन्छ,’ उनले भने, ‘आलोचनालाई छातीमा राखेर निःस्वार्थ रूपमा पीडितहरूको पीडाको घाउमा मलम बन्न म सबैलाई आग्रह गर्दछु।’

प्रदेश प्रमुख देवकोटाले संविधानको सर्वोच्चता, कानुनी राज्य, सुशासन र नागरिकप्रतिको जवाफदेहितालाई व्यवहारमा उतार्दै संविधानले निर्दिष्ट गरेको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिए। सभ्य, समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

सुझावित समाचार