पुँजीबजार पुनरुत्थान कार्ययोजनाको प्रभाव : ६ दिनमा ११५.६७ अंकले बढ्यो नेप्से

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

सरकारले पुँजीबजार सुधारका लागि कार्ययोजना ल्याएयता सेयर बजार उकालो लाग्न थालेको छ । पछिल्लो एक सातामा नेप्से परिसूचक एक सय १५ दशमलव ६७ अंकले बढेको छ ।

लामो समयदेखि शिथिल रहेको बजारमा १० भदौको विनाशकारी बाढीले थप असर पारेको थियो । बाढीपछि बजार परिसूचक १५ भदौमा घटेर न्यूनतम २५१३.४२ विन्दुसम्म पुगेको थियो ।

बजारमा आर्थिक गतिविधि सुस्त हुन थालेपछि गत साता शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले चारजना उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालसँग छलफल गरेका थिए । त्यसै दिन परिसूचक २७.९४ अंकले बढेको थियो । त्यसपछि सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३ सार्वजनिक गरे । यसले मूलतः एक वर्षभन्दा बढी समय नाघेका सेयर कारोबार गर्दा लाग्ने लाभकर ३.७५ प्रतिशत र कम अवधि स्वामित्वमा रहेको सेयर कारोबार गर्दा पाँच प्रतिशत कायम गर्ने घोषणा गरेको थियो । यसले पुँजीबजारलाई उत्साहित बनाएको सरोकारवाला बताउँछन् । मन्त्रिपरिषद् बैठकले समेत उक्त कार्ययोजनाको व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । यसअघि यस्तो कर एक वर्षभन्दा थोरै अवधि होल्ड गर्नेको हकमा १० र एक वर्षभन्दा धेरै होल्ड गर्नेको हकमा ७.५ प्रतिशत थियो ।

मन्त्रिपरिषद्बाटै वित्तीय कार्ययोजना स्वीकृत गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । करसम्बन्धी प्रमुख विषय मन्त्रिपरिषद्बाटै अनुमोदन भइसकेको र बाँकी नीतिगत विषय सम्बन्धित निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कार्यान्वयन गर्ने क्रममा रहेकाले लगानीकर्ताको मनोबल बढेको उनको भनाइ छ ।

‘सरकार सुधारको बाटोतर्फ हिँडेको भनेर बजारमा कन्फिडेन्स देखिएको छ, हालको सुधार त्यसैको प्रभाव पनि हो,’ उनले भने । यद्यपि, बजारको दिगो विकासका लागि सूचीकृत कम्पनीको वित्तीय स्थिति सबल हुनुपर्नेमा उनले जोड दिए । ‘सूचीकृत कम्पनीको फन्डामेन्टल नै सुधार नभएसम्म बजार अलि दिगो रूपमा जान गाह्रै हुन्छ,’ उनले भने, ‘फन्डामेन्टल ठिक नभएको कम्पनीको बिस्तारै खरिद–बिक्री हुँदैन, जुन कम्पनी स्ट्रङ छ, लगानी त्यतातिर नै हुन्छ ।’

पछिल्लो समय सरकारले सेयर बजारलाई प्रभावित पार्ने उद्देश्यले गतिविधि बढाउँदै गइरहेको छ । नेपाल धितोपत्र बोर्डले समेत बिहीबार सार्वजनिक सेयर निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ जारी गरेको छ ।

नयाँ कार्ययोजनाले लगानी बढ्ने निजी क्षेत्रको अपेक्षा
सरकारले पुँजीबजारको विकास, विस्तार तथा सुधारका लागि अघि सारेको नयाँ कार्ययोजनाको प्रभावकारी कार्यान्वयन भएमा लगानीको वातावरण सुधार भई अर्थतन्त्र चलायमान हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारका सुधारका प्रयासलाई स्वागत गरेको हो ।
प्रस्तावित व्यवस्थाले पुँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, लगानीमैत्री र चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने महासंघको विश्वास छ ।

सरकारले अघि सारेको आइपिओमा बुक बिल्डिङ प्रणालीको प्रभावकारी कार्यान्वयन, संस्थागत लगानीकर्ताको पुँजी सन्तुलन, नयाँ लगानी औजारको विकास, स्टक एक्सचेन्जको पुनर्संरचना, अन्तरदिवसीय तथा मार्जिन कारोबारको विस्तारजस्ता दूरगामी कदमलाई महासंघले कोसेढुंगाका रूपमा लिएको छ । बजारलाई थप व्यवस्थित बनाउन महासंघले केही महत्वपूर्ण सुझावसमेत दिएको छ । सूचीकृत नभएका कम्पनीको सेयर निसर्गमा लाग्ने १० प्रतिशत करलाई सूचीकृत धितोपत्रको कर दरसँग सामञ्जस्य कायम गर्नुपर्ने तथा धितोपत्र कारोबार गर्ने लगानी कम्पनीका लागि करको दर १५ प्रतिशत कायम गर्नुपर्ने महासंघको भनाइ छ । यसैगरी, सेयर बिक्रीको आशयसम्बन्धी खुलासा (इन्टेन्ट टु सेक्युरिटिज सेल)सम्बन्धी व्यवस्थालाई अन्तर्राष्ट्रिय अभ्यासअनुरूप थप स्पष्ट र व्यावहारिक बनाउँदै पाँच प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका लगानीकर्ताको स्वामित्वमा एक प्रतिशतभन्दा बढी परिवर्तन आएमा बजार खुल्नुअघि नै जानकारी गराउने व्यवस्था उपयुक्त हुने महासंघले जनाएको छ ।

सुझावित समाचार